ग्रामीण महिला दिवसः ग्रामीण महिलाहरुको भूमिका

 

ग्रामीण महिलाहरुले अत्यन्तै असुरक्षित तथा जोखिमपूर्ण ढंगबाट आफ्नो दिनचर्या विताउदै अर्थतन्त्रमा गरेका योगदानको कदर गर्दै सन् २००७ मा सम्पन्न संयुक्त राष्ट्रसंघको साधारण सभाबाट हरेक अक्टोवर १५ लाई अन्तराष्ट्रिय ग्रामीण महिला दिवशको रुपमा मनाउने निर्णय पारित गर्‍यो ।

विश्वका विभिन्न देशहरुले उक्त दिनलाई अन्तराष्ट्रिय ग्रामीण महिला दिवशको रुपमा मनाउँदै, ग्रामीण महिलाका समस्यालाई उजागर गरी प्राप्त सिकाइलाई योजनामा समावेश गर्दै अगाडी बढे ।

नेपालमा भने उक्त संयुक्त राष्ट्र संघको साधारण सभाले पारित गरेको कुराले सार्थकता पाउन सकेन । सत्ताको वागडोर समाउनेहरुले सुकिलामुकिलाको कुरा छोडेर ग्रामीण धुले तथा भुई महिलाहरुको कुरा सुन्नु आवश्यकता ठानेनन् र अहिले पनि ठानिरहेका छैनन् ।

यसै सन्दर्भमा नेपालको इतिहासमा भूमिहीन, सिमान्त महिला र साना किसानको अधिकारका बारेमा पैरवी गर्दै अगाडी बढेको र जुन वर्ग पछाडी परेको छ उसलाई मूलधारमा नल्याएसम्म देशको विकास सम्भव छैन भन्ने मान्यता बोकेको राष्ट्रिय कृषक समूह महासंघ, नेपालले संयुक्त राष्ट्र संघिय कार्यक्रम र अष्ट्रेलियन एडसंगको सहकार्यमा सन् २०१४ मा पहिलो पटक अन्तराष्ट्रिय ग्रामीण महिला दिवश मनाउन शुरुवात गरेको हो । त्यस यता हरेक वर्ष महासंघले ग्रामीण महिला दिवश मनाउने कार्यलाई जारी राखेको छ ।

गत बर्ष “ग्रामीण महिला ः समृद्धिको आधार” भन्ने मूल नाराका साथ सिन्धुपाल्चोक जिल्लाको दुर्गम गाउँ लिसंखुपाखर गाउँपालिकासंग सहकार्यका साथ भव्य रुपमा मनाएको थियो भने यस बर्ष खाद्यका लागि कृषि अभियानमा जोडिएका संघ संस्थाहरुसँग मिलेर भर्चुअलमा “खाद्य र ग्रामीण महिला” भन्ने वहसका साथ मनाउँदै छ ।

जनगणना २०६८ का अनुसार नेपालमा कुल २,६४,९४,५०४ जनसंख्या मध्ये १,३६,४५,४६३ (५१.५ प्रतिशत) जनसंख्या महिलाहरुको छ । उक्त मध्ये ८० प्रतिशत महिलाहरु भू-स्वामित्व बिहीन छन् । २० प्रतिशत महिलाहरुको नाममा मात्र घर वा जग्गा छ । नेपाल कृषि प्रधान देश हो । ग्रामीण महिलाहरुको जीवीकोपार्जन तथा रोजगारीको आधारनै कृषि हो । देशको करिब ८० प्रतिशत ग्रामिण महिला र ९० प्रतिशत उत्पादन पारिवारिक खेतीबाट हुने गर्दछ ।

जोसँग जमीन छ उसले खेती गर्दैन उ शहर केन्द्रित छ । जोसँग जमिन छैन उसले जीविकोपार्जन र रोजगारीका रुपमा कृषिलाई अंगालेको छ । आफ्नो स्वामित्वमा नभए पनि कृषि श्रमिकका रुपमा माटो खनिखोस्री वाली लगाउन ग्रामीण भुई महिलाहरु वाध्य छन् ।

जीविकोपार्जनमा कठीनाई भएकाले र कृषि पेशाबाट पोषाउन नसकेर पुरुषहरु गाउँ छोडी शहर र शहर छोडी बिदेश पलायन हुन वाध्य भएको स्थितिमा कृषि कर्मका साथसाथै घरायसी आर्थिक कारोबार, बुढाबुढी तथा बाल बच्चा स्याहार सुसार, सामूदायिक काममा श्रमदान, विभिन्न संघसंस्थाको कार्यक्रममा उपस्थिति जनाई कार्यक्रम सफल बनाईदिनु, खाना पकाउने, भाँडा सफा गर्ने, पशुपालन, विद्यालयमा बालबालिकाको निगरानी लगायतका ज्याला नपाउने वा ज्यालाको मूल्याङ्कन नहुने काममा ग्रामीण महिलाहरुको बोझिलो उपस्थिती रहँदै आएको छ ।

कृषि, खाद्य सुरक्षा र पोषणका लागि दैनिक जीवनमा संघर्ष गर्दै आएका ग्रामिण महिला तथा किशोरीहरुमा कोभिड-१९ को प्रभावबाट थप समस्या थपिएको छ । कोभिड—१९ संग सामना गर्न ग्रामिण समुदायमा गुणस्तरीय स्वास्थ्य सेवा,आवश्यक औषधी र खोपहरुको पहुँचमा कमी छ ।

प्रतिबन्धात्मक सामाजिक मापदण्डले ग्रामीण पहिलाको स्वास्थ्य सेवामा पहुँचको क्षमतालाई सिमित पारेको छ । नियामित घरेलु एवं कृषिकार्यलाई समेत कोभिडले प्रभाव पारेको छ । यि सबैको बाबजुद पनि ग्रामिण महिलाहरु महामारीसंग जुध्न अग्रणी भूमिकामा छन् ।

यसर्थ यस वर्षको अन्तराष्ट्रिय ग्रामिण महिला दिवसलाई संयुक्त राष्ट्रसंघले कोभिड-१९ पछि ग्रामिण महिलाको अनुकुलन क्षमता निर्माण गर्नु एवं महिलाहरुको संघर्ष योगदानबारे सामाजिक रुपमा जागरुकता श्रृजनागर्नु रहेको छ ।