१६ चैत्र २०८०, शुक्रबार

नेपालमा आईसक्रिम उद्योगमा रु.३ अर्ब भन्दा बढी लगानी तर माल्टा,इटलीबाटपनि आयात

प्रकाशित मिति :  15 October, 2020 8:54 am


काठमाडौं, २९ असोज ।

नेपालमा आईसक्रिम उद्योगमा मात्रै झण्डै ३ अर्ब ११ करोड लगानी भएको छ । देशभर भएका झण्डै १५० वटा आइसक्रिम उद्योगमहरुमा ३ अर्ब ११ करोड रुपैयाँ बराबरको लगानी भएको अध्ययनले देखाएको छ ।

जसमा १०५ करोड बैंक तथा वित्तिय संस्थाहरुको कर्जा लगानी भएको छ । ‘नेपालमा आइसक्रिम उत्पादनमा आत्मनिर्भरताको सम्भावना सम्बन्धी प्रतिवेदन २०७७’ का अनुसार नेपालमा आइसक्रिम मध्य संगठित उत्पादनकहरुबाट ५२ करोड, असंगठित उत्पादकबाट १० करोड र झण्डै ३९ करोड रुपैयाँ बराबरको आयात हुने गरेको देखिएको छ ।

प्रतिवेदनका अनुसार आईसक्रिम सबैभन्दा धेरै आयात भारतबाट हुने गरेको छ । भारत बाहेक इटाली, अमेरकिा, थाइल्याण्ड, माल्टा, दुबई आदिबाट पनि केहि मात्रामा आईसक्रिम आयात भएको प्रतिवेदनमा उल्लेख छ ।

अध्ययनले भारतबाट अवैध रुपमा आइसक्रिम भित्रिएको हुनसक्ने आशंका गरेको छ । प्रतिवेदनमा भनिएको छ,“ छिमेकी मुलुक भारतसंग हाम्रो खुला सिमाना भएका कारण नेपालमा भारतबाट अवैध रुपमा आईसक्रिम भित्रिएकोछैन भन्न मिल्दैन ।”

अध्ययनका अनुसार नेपालमा साना, मझौला र ठूला आइसक्रिम उत्पादन गर्ने उद्योगहरु मध्य मझौला र ठूला आइसक्रिम उत्पादन गर्ने सङ्गठित आइसक्रिम उद्योगहरु करिब ४० वटाको संख्यामा छन्। । यसका साथै ससाना आइसक्रिम विक्रेताहरु जो आफ्नो घरमै आइसक्रिमका प्रकार जस्तै कुल्फी आदि बनाएर विक्री गर्नेको संख्या पनि धेरै नै रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

नेपालमा पछिल्लो समयको अपुष्ट तथ्यांक अनुसार वार्षिक ३०,९८,९१८ लि. आईसक्रिमको खपत हुन्छ । नेपालको हालको जनसंख्या अनुसार यदि प्रति व्यक्ति कम आईसक्रिम खपत गर्ने देश भारत जहाँ ४०० लि. प्रति व्यक्ति प्रति वर्ष तुलना गर्ने हो भने पनि वार्षिक १२ अर्ब लि. आईसक्रिम खपत हुन सक्छ । चीनको प्रति व्यक्ति खपत ३००० लि. प्रति व्यक्ति प्रति वर्ष देखिन्छ भनेअमेरिकाकोप्रति व्यक्ति खपत २२००० लि. प्रति व्यक्ति प्रति वर्ष देखिन्छ ।

Final Ice cream – Reort

हाल नेपालमा भईरहेको खपत मध्ये करिब ८०% (सर्वेक्षणमा संकलन गरेको विवरण अनुसार ( लिटरमा)) स्थानीय उत्पादनबाट र करिब २०% आयातबाट पूर्ति भएको पाइन्छ । तर विक्री मूल्यका आधारमा हेर्ने हो भने ६१% स्थानीय उत्पादनबाट र ३९% आयातबाट पूर्ति भएको पाइन्छ ।

नेपालमा हालको नेपाली आईसक्रिम उद्योगहरुको जडित क्षमता पूर्णरुपमा उपयोग गरेमा विना आयात सजिलै माग धान्न सकिने अध्ययनको प्रतिवेदन उल्लेख छ । अध्ययन प्रतिवेदनमा भनिएको छ,“नेपालमा हालकोनेपाली आईसक्रिम उद्योगहरुको जडित क्षमता पूर्णरुपमा उपयोग गरेमा विना आयात सजिलै माग धान्न सकिनेमात्र होईन अझ थप २५० प्रतिशत खपत-उपभोग बढेमा पनि धान्न सक्दछ ।

आवश्यक सेवा सुविधा, कच्चा पदार्थको उपलब्धता, कर तथा कर्जामा सहुलियतको व्यवस्था र उचित व्यावसायिक वातावरण भएमा नेपाली आईसक्रिम उद्योगहरुले क्षमता वृद्धि गरी उपभोगको मात्रा बढे पनि सजिलै आपूर्ति गर्न सक्दछ ।”

नेपालमा अहिलेपनि आईसक्रिम उत्पादनका लागि खच्चा पदार्थहरु स्थानीय रुपमा उपलब्ध छैन जसका कारण विदेशबाट आयात गर्नुपर्ने अवस्था छ ।

अध्ययन प्रतिवेदनमा भनिएको छ,“आइसक्रिम उत्पादनका निम्ति केही कच्चा पदार्थहरु स्थानीय रुपमा उपलब्ध नभएकोकारण विदेशबाट आयात गर्नुपर्ने अवस्था छ । सर्वेक्षणका आधारमा विवरण संकलन गर्दा फ्लेभर, स्टेबिलाइजर, पाउडर दुध, प्याकिंग सामग्रीहरु जस्ता कच्चा पदार्थहरु आइसक्रिम उद्यमीहरुले विदेशबाट आयात गरिरहेका छन् ।”

सरकारले स्वदेशी आइसक्रिम उद्यमीहरुलाई यी कच्चा पदार्थहरुमा भन्सार दर कम गरिदिएर प्रोत्साहन गरिदिनुपर्ने प्रतिवेदनमा सुझाव दिइएको छ । भनिएको छ,“सरकारले स्वदेशी आइसक्रिम उद्यमीहरुलाई यी कच्चा पदार्थहरुमा भन्सार दर कम गरिदिएर प्रोत्साहन गरिदिने हो भने स्वदेशी आइसक्रिम उद्यमीहरुले कम लागतमानै आइसक्रिम उत्पादन गर्न सक्दछन्। यसले गर्दा स्वदेशी आइसक्रिम उद्यमीहरुले विदेशी आइसक्रिमसंग सजिलै प्रतिस्पर्धा गर्न सक्दछन् ।”

नेपालमा आईसक्रिममा आत्मनिर्भर हुनका गर्नुपर्ने काम

प्रतिवेदनले नेपालमा आईसक्रिममा आत्मनिर्भर हुनका लागि विभिन्न सुझावहरु दिएको छ । पूर्वाधार अन्तर्गत औद्योगिक क्षेत्र तथा विशेष आर्थिक क्षेत्रमा डेरी तथा आईसक्रिम उद्योगको लागि प्राथमिकता सहित स्थान उपलब्ध गराउने भनिएको छ भने अनुसन्धान केन्द्र तथा प्रयोगशाला निर्माण गर्ने सुझाव दिईएको छ ।

त्यस्तै दूध उत्पादन पकेट क्षेत्र र डेरी तथा आईसक्रिम उद्योग केन्दि«त क्षेत्रहरुमा वातानुकुलित भण्डारण केन्द्रहरुको निर्माण र सरल-सुपथ प्रयोगको व्यवस्था गर्ने, पशुपालन तथा दुग्ध उत्पादन क्षेत्रमा विद्युतिकरण तथा अविछिन्न विद्युत आपूर्ति सुनिश्चित गर्ने, पशुपालन तथा दुग्ध उत्पादन क्षेत्रमा र प्रमुख डेरी – आईसक्रिम उद्योगहरु बीच सहज सडक पूर्वाधार विकास गर्नुपर्ने अध्ययन प्रतिवेदनको सुझावमा उल्लेख    छ ।

सेवा सुविधा अन्तर्गत कच्चा पदार्थ र प्याकिङ्क सामान आयातमा लाग्ने भन्सार महशुल घटाउने, बढीमा तयारी आइसक्रिमको भन्सार महशुल सम्म राख्ने, केन्द्रीय बैंकसँग संयोजन गरी डेरी -आईसक्रिम उद्योगका लागि परियोजना कर्जा (विना धितो) को व्यवस्था गर्ने सुझाव अध्ययन प्रतिवेदनमा छ । त्यस्तै वातावरण मैत्री तथा नविन प्रविधि आयातमा भन्सार महशुल लगायत अन्य दस्तुरमा छुटका लागि पहल गर्ने, नयाँ उद्योग स्थापनाकालागि केही वर्ष कर छुटका लागि सिफारिस गर्ने भनिएको छ ।

अध्ययन प्रतिवेदनमा भनिएको छ,“पशुपालन तथा दुग्ध उत्पादनलाई दर्ता गरी सञ्चालन गर्न प्रोत्साहित गर्ने जसबाट संस्थागत विकास र बृहत लगानी आकर्षित भई दिगो विकासमा टेवा पुग्दछ ।”

संस्थागत दर्तावाला प्रतिष्ठानलाई जिविकामुखी पशुपालन दुग्ध उत्पादन सरह कर छुटका लागि पहल गर्न लघु उद्योगमा दिइआएको ५ वर्ष कर छुटको सुविधा ठूला उद्योगलाई पनि दिन,सरकारको नीति तथा कार्याक्रम र बजेट अनुसार खाद्य स्वच्छता कायम गर्न आवश्यक ऐन नियम तर्जुमा गरी कार्यान्वयन गराउन, कृषकले उत्पादन गर्ने दुग्धको समर्थन मूल्य तोक्ने र दुग्ध बैंक बनाई निरन्तर खरीद र आपूर्तिको व्यवस्था गर्नपनि अध्ययन प्रतिवेदनले सुझाव दिएको छ ।

आयात निर्यातमा सहजिकरण गर्नुपर्ने, प्रविधि हस्तान्तरण-रुपान्तरण गर्नुपर्नेमा पनि अध्ययन प्रतिवेदनमा सुझाव दिईएको छ ।



प्रतिक्रिया दिनुहोस !