१५ चैत्र २०८०, बिहिबार

नेपालमा मल कारखाना खोल्न सम्भावना रहेको कार्यदलको निष्कर्ष, प्रतिवेदन कृषि मन्त्रीलाई बुझाइयो

प्रकाशित मिति :  15 October, 2020 8:18 pm


काठमाडौं, २९ असोज ।

नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धमा अध्ययन गर्न बनेको कार्यदलले प्रतिवेदन बुझाएको छ ।

मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारी संयोजक रहेको कार्यदलले नेपालमा मल कारखाना खोल्न सम्भव रहेको र थप विस्तृत प्राविधिक अध्ययन गर्नुपर्ने सुझावसहित आज कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाललाई प्रतिवेदन बुझाएको हो ।

कार्यदलले तत्काल यूरिया प्लान्ट स्थापना गर्नका लागि बयोमास ग्याँसिफिकेसन र जलविद्युतको हाइव्रिड प्रविधि अवलम्वन गर्न उपयुक्त हुने सुझाव दिएको छ ।

नेपालमा जलविद्युतको पर्याप्त उत्पादन हुन थालेकोले अबको दिनमा विद्युतको प्रति युनिट मूल्य घट्ने आँकलन रहेकाले उक्त प्रविधि उपयुक्त रहेको पनि प्रतिवेदनको सुझाव छ ।

युरिया मल उत्पादनका लागि उपयुक्त प्रविधिको छनौट र त्यस सँग सम्वन्धित आर्थिक विश्लेषणका पाटोमा थप अध्ययन गर्न सम्बन्धित विषयका प्राविधिक/विज्ञहरुसँग थप छलफल गर्नु पर्ने आवश्यकता औंल्याएको छ ।

कार्यदलले रासायनिक मल कारखाना स्थापना सम्वन्धमा हालसम्म भएका अध्ययन प्रतिवेदनहरुको विस्तृत समिक्षा र अनुसन्धात्मक अध्ययन गर्ने कार्यादेश पाएको थियो ।

प्रतिवेदन बुझ्दै मन्त्री भुसालले राजनीतिक तहमा मात्र उठ्दै आएको रासायनिक मल कारखाना खोल्ने विषय अब मन्त्रालयले औपचारिक रुपमा ग्रहण गरेको बताए । अब यस कारखाना खोल्ने विषय थप प्राविधिक अध्ययन गर्दै तार्किक निष्कर्षमा पुर्‍याइने मन्त्री भुसालको भनाई   छ ।

मन्त्री भुसालले लगानी बोर्ड र जाइकाले गरेको अध्ययनको समयभन्दा अहिले प्रविधिमा धेरै विकास भइसकेकाले कारखाना स्थापनाको लागत अझ कम हुन सक्ने सम्भावना रहेको उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस !