१५ चैत्र २०८०, बिहिबार

कांग्रेस सांसदले फिर्ता गरे दशैँ भत्ता, सत्तापक्ष पनि फिर्ताको तयारीमा

प्रकाशित मिति :  19 October, 2020 4:25 pm


काठमाडौं, ३ कार्तिक ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदले आफ्ना खातामा आएको दशैँ भत्ता फिर्ता दिने निर्णय गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार सांसदहरुलाई भत्ता फिर्ता गर्न निर्देशन दिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बताए । उनका अनुसार पार्टीका सांसदको भत्तावापतको कूल रकम ४३ लाख २० हजार ८ सय १० रूपैयाँ फिर्ता दिने निर्णय भएको हो।

यसअघि नै कांग्रेसका गगन थापा, बालकृष्ण खाँण, प्रकाशमान सिंह, डा। नारायण खड्का लगायतका नेताहरूले दशैँ भत्ता फिर्ताको निर्णय गरिसकेका छन् भने सत्तारुढ दलका नारायणकाजी, भिम रावल, गोकर्ण विष्ट लगायतमा नेताहरुले यसअघि नै फिर्ता लिने घोषणा गरेका छन् ।

सिंगो देश कोरोना भाइरससँग जुधिरहेको समयमा सांसदलाई दशै भत्ता बाडेपछि सरकारको अहिले चौतर्फी आलोचना भैइरहेको छ।

महामारीबाट पीडित भइरहँदा पनि जनताकै प्रतिनिधि भनिएका सांसद्हरूले भने दशैँ भत्ता बापत ६४ हजार ७० रूपैयाँ भत्ता लिने विषयका बारेमा चौतर्फि आलोचना भएको छ । चौतर्फी आलोचनापछि सत्तारुढ दल नेकपाले छलफल थालेको छ ।

राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईका अनुसार संसदीय दलका नेता केपी शर्मा ओलीको तर्फबाट वक्तव्य जारी गर्ने तयारी भइरहेको बताएका छन्।

यता जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समिति पनि बैठक बसेको छ ।

कानुनमा नियमित तलबबाहेक, घरबहाल खर्च, खानेपानी तथा विद्युत् खर्च, सञ्चार खर्च, सचिवलाई तलब, बैठक भत्ता, भ्रमण भत्ताको व्यवस्था भएपनि दशैँ भत्ता सम्बन्धी कुनै प्रावधान नै छैन ।



प्रतिक्रिया दिनुहोस !