६ बैशाख २०८१, बिहिबार

खसीबोका बिक्री नहुँदा चाडपर्वमा खर्च जुटाउन मुश्किल

प्रकाशित मिति :  24 October, 2020 3:09 pm


काठमाडौं, ८ कार्तिक ।

बडादसैँको समयमा गरिने खसी बोकाको व्यापारमा यस वर्ष कमाई हुन नसक्दा कैलालीको चुरेगाउँपालिकाका किसान दानबहादुर बुढामगरलाई चाडपर्वमा खर्च जुटाउन समस्या भएको छ ।

महामारीले चहलपहल न्यून भएकोले खसी बोकाको कारोवार घट्दा परेको असरले खर्च जुटान समस्या भएको दानबहादुर बताए । विगत दसैँमा जस्तो खसी बोका कारोवारमा यस वर्ष कोरोना सङ्क्रमणको जोखिमका कारण ठूलो असर पुगेको घुम्ति व्यापार गर्ने गरेका किसानले बताएका छन् ।

बाख्रापालन गर्दै आएका चुरे गाउँपालिकाका अर्का किसान जीवन थापाले कोरोना फैलिने डरले दशैँको समयमा खसी बोकाको घुम्ति व्यापार नै गर्नु गरेनन् ।

स्थानीय क्षेत्रमा जिउँदो खसी मुश्किलले प्रति किलो रु ५००देखि५५०मा खरिद बिक्री भइरहेको चुरेका स्थानीय किसान प्रेम आचार्यले बताए ।

बाख्रापालनका लागि उर्बर भूमि मानिने चुरे गाउँपालिका क्षेत्रमा बाख्रापालन गर्ने किसानलाई सरकारवाट सहयोग नपुगेको गुनासो कृषकको   छ ।

हाल ३६ वटा बाख्रा पाल्दै आएका आचार्यले सरकारले बाख्रापालन गर्ने किसानलाई विभिन्न सहयोग गर्ने गरेको भन्ने सुनिएपनि आफ्नो गाउँठाउँमा सरकारी कार्यक्रम कहिल्यै नपुगेको बताए । कैलाली जिल्लाको चुरे पहाडी क्षेत्रको चुरे गाउँपालिकामा अधिकांश किसानको मुख्य आयस्रोत बाख्रापालन र फलफूल खेती छ । रासस



प्रतिक्रिया दिनुहोस !