१४ बैशाख २०८१, शुक्रबार

अफगानिस्तानमा एक शैक्षिक संस्थाबाहिर विष्फोट, कम्तिमा १८ जना मारिए

प्रकाशित मिति :  25 October, 2020 7:18 am


काठमाडौं, ९ कार्तिक ।

अफगानिस्तानमा एक शैक्षिक संस्थानबाहिर भएको आत्मघाती आक्रमणमा कम्तिमा १८ जना मारिएका छन् । कैयौ घाइते भएका र उनीहरुको अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ ।

घाइतेका संख्या धेरै भएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । यो विष्फोट एक निजी शैक्षिक संस्थान बाहिर भएको थियो जसले उच्च शिक्षा क्षेत्रमा थुप्रै कोर्सको अध्ययन गराउछ ।

इस्लामिक स्टेट समूहले सामाजिक सञ्जालको माध्यमबाट आक्रमणको जिम्मेवारी लिएको छ तर आक्रमणको कुनै प्रमाण पेश गर्न सकेको   छैन । यसभन्दा पहिले तालिबानले आक्रमणमा आफ्नो कुनै संलग्नता नरहेको बताएको थियो । गृह मन्त्रालयका प्रवक्ता तारीक एरियनले भनेका छन् कि आत्मघाती आक्रमणकारी भवनभित्र प्रवेश गर्ने प्रयास गरेका थिए तर सुरक्षाकर्मीले चिनेपछि उक्त व्यक्तिले ढोका अगाडि नै आफूलाई विष्फोट गराएका थिए ।

एक स्थानीय नागरिक अली रेजाले समाचार एजेन्सी एएफपीसँग बताए अनुसार मर्नेमा धेरैजसो छात्र छन् जो भवनभित्र प्रवेश गर्नका लागि प्रतिक्षारत रहेका छन् । पछिल्लो दिनमा अफगानिस्तानमा हिंसात्मक घटना बढिरहेको छ र धेरैजसो आक्रमणमा तालिबानको संलग्नता रहेको छ ।

कतारको राजधानी दोहामा सरकार र तालिबानबीच शान्तिवार्ता चलिरहेको छ र हिंसाले वार्तामा असर गर्न सक्ने आशंका गरिएको छ । अफगानिस्तानमा चरमपन्थी संगठनले शिया समुदायलाई निशाना बनाईरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !