४ जेष्ठ २०८१, शुक्रबार

चाडपर्वलाई कोरोना थप फैलने माध्यम बन्न नदिन र स्वास्थ्य सुरक्षामा ध्यान दिन उपराष्ट्रपतिको आग्रह

प्रकाशित मिति :  26 October, 2020 8:19 am


काठमाडौं, १० कार्तिक । 

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले चाडपर्वलाई कोरोना भइरस संक्रमण थप फैलने माध्यम बन्न नदिन र चाड मनाउँदा स्वास्थ्य सुरक्षामा अधिक ध्यान दिन अपिल गरेका छन् ।

बडादसैँको अवसरमा आज शुभकामना दिँदै उपराष्ट्रपति पुनले भनेका छन्,“ कोरोना भाइरसको महामारीका कारण यसवर्षको बडा दशैं विगत वर्षहरुको जस्तो उल्लासमय वातावरणमा मनाउने अवस्था रहेन । यो प्रतिकुल अवस्थामा आइपुगेको बडादसैँ सबै नेपालीले जहाँ छौं त्यहीं अवस्थामा घरमै बसेर मनाउनुहुनेमा विश्वस्त छु । वर्ष दिनमा आइपुगेको महान् चाडलाई कोरोना भाइरस संक्रमण थप फैलने माध्यम बन्न नदिन र चाड मनाउँदा स्वास्थ्य सुरक्षामा अधिक ध्यान दिन सबैमा अपील गर्दछु । ”

देशमा कोरोना भाइरस संक्रमण र मृत्युदर दुवै निरन्तर बढिरहेको भन्दै उपराष्ट्रपति पुनले आगामी दिनमा कोराना भाइरस संक्रमण अझै बढ्ने सम्भावनाले मलाई अत्यन्त चिन्तित बनाएको उल्लेख गरेका छन् । उनले चाडपर्व तथा अन्य समयमा स्वास्थ्य सुरक्षाको नियम पालना गर्न सबैमा विशेष आग्रह गरेका छन् ।

हाम्रो देशमा मनाइने सबै खाले चाड पर्वहरुले नेपालीहरुकाबीच आपसी सद्भाव, सहिष्णुता, भाईचारा र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्दै आइरहेको उपराष्ट्रपति पुनको भनाई छ । बडादसैँको यस पावन पर्वको माध्यामबाट नेपालीहरुकाबीच आपसी सद्भाव, सहिष्णुता, भाईचारा र बलियो एकताको अभिवृद्धि हुँदै जाने उनले विश्वास व्यक्त गरेका छन् ।

कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि तीनै तहका सरकारले निरन्तर प्रयास गरिरहे तापनि स्वास्थ्य अवस्था गम्भीर बनेका कतिपय संक्रमितहरुले उपचार अभाव भोग्नु परिरहेको खबर आउनु ज्यादै दुःखद कुरा भन्दै उपराष्ट्रपति पुनले भनेका छन्,” कोरोना भाइरसले स्वास्थ्य अवस्था जटिल भएकाहरुको उचित उपचारको प्रवन्ध गर्न तथा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सबै तहका सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । साथै, सबै तहका सरकार र आमनागरिकको प्रयासले कोरोना भाइरस नियन्त्रणमा आउने र आगामी चाडपर्वहरु विगत वर्षहरुमा जस्तै उल्लासमय वातावरणमा मनाउन पाउने अवस्थाको अपेक्षा गर्दछु । ”



प्रतिक्रिया दिनुहोस !