४ जेष्ठ २०८१, शुक्रबार

चाडपर्वका बेला अटोमोबाइल कम्पनीहरूको नयाँ सवारी र अफर कस्तो हुँदैछ ?

प्रकाशित मिति :  30 October, 2020 9:45 am


एकराज सुवेदी –

चाडपर्वको अवसरमा विभिन्न अटोमोबाइल कम्पनीले नयाँ मोडलका सवारीसाधनसँगै फरक–फरक प्रकृतिक स्किम तथा अफर सार्वजनिक गरेका छन् । उनीहरूले सार्वजनिक गरेको यस्ता सवारीसाधन र अफरले कोभिड महामारीबाट प्रताडित अटोमोबाइल क्षेत्रमा नयाँ रौनक थप्नुका साथै ग्राहकहरूमा पनि केही सहुलियतको अनुभूति भएको छ ।

चाडपर्वलाई लक्षित गरी नयाँ सवारीसाधन र विभिन्न स्किम तथा अफरहरू सार्वजनिक भएपछि ६ महिनायता बन्दाबन्दीको अवस्थामा रहेको अटो बजार चलायमान बनेको छ । लकडाउन केही खुकुलो भए पश्चात भदौ अन्तिम साता यता विभिन्न अटोमोबाइल कम्पनीहरूले २ दर्जनभन्दा बढी मोडलका नयाँ गाडी तथा मोटरसाइकल सार्वजनिक गरेका छन् । बदलिँदो परिस्थितिलाई मध्यनजर गर्दै ती कम्पनीहरूले भर्चुअल इभेन्टमार्फत नयाँ सवारीसाधन सार्वजनिक गरेका हुन् । पहिले जस्तो धेरै मानिस झुम्मिएर नगरी यस पटक सबै इभेन्टहरू भर्चुअल माध्यमबाट भएका छन् ।

यो अवधिमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले अउरा, ग्रान्ड आई १० निओस र नयाँ जेनेरेसन क्रेटा सार्वजनिक गरेको छ । साथै, उसले दसैं–तिहार लक्षित अफर समेत सार्वजनिक गरेको छ । ‘यसपालिको दसैं तिहार, वेलकम टु हुन्डाई परिवार’ ट्यागलाइन सहित सार्वजनिक भएको अफर अन्तर्गत यो अवधिमा गाडी खरिद गर्ने ग्राहकले एक एक थान अउरा र ग्रान्ड आई टेन नियोस जित्न सक्ने छन् ।

उता टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले अल्ट्रोज मोडलको कम्प्याक्ट सेडान सार्वजनिक गरेको छ । त्यसैगरी, एमएडब्लु वृद्धि कमर्सियलले फोटोन ब्रान्डका पिकअप र भ्यान सार्वजनिक गरेको छ । चिनियाँ ब्रान्ड फोटोनका टुनल्याण्ड पिकअप र १९ सिट क्षमताको भ्यू सिएस२एल मिनीबस सार्वजनिक भएका हुन् । रेनो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक एड्भान्स अटोमोबाइलले नयाँ रेनो क्विड सार्वजनिक गरेको छ । यस्तै, ड्याटसनको नयाँ रेडी गो पनि सार्वजनिक भएको छ । टोयोटा कोरोला क्रस पनि यही अवधिमा सार्वजनिक भएको छ ।

यो अवधिमा गाडीको तुलनामा नयाँ मोटरसाइकल धेरै संख्यामा सार्वजनिक भएका छन् । केटीएम, हस्कभर्ना, सीएफ मोटो र यामाहा लगायत ब्रान्डका नयाँ मोटरसाइकल तथा स्कुटर सार्वजनिक भएका हुन् । केटीएमका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले एकैपटक ५ वटा नयाँ मोडल बीएस ६ मापदण्डका बाइक सार्वजनिक गरेको छ । कम्पनीले नेपाली बजारमा पहिलो पटक हस्कभर्ना बाइकलाई समेत आधिकारिक रुपमा भित्र्याएको छ । उसले हस्कभर्नाका भिटपिलेन २५० र स्भार्टपिलेन २५० मोडलका बाइक उपलब्ध गराएको छ ।

यसैगरी, सीएफ मोटोको आधिकारिक बितरक अन्ना इन्टरनेसनलले १५० एनके र २५० एनके मोडल भित्र्याएको छ । यो बाइक भित्रिनु अघिदेखि नै कम्पनीले बुकिङ लिन थालेको थियो । यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले रे जेडआर १२५ मोडलको एफआई भर्सन स्कुटर र एक्सटीजेड १५० बाइक सार्वजनिक गरेको छ ।

नेपाली बजारमा बजाजको एभेन्जर सिरिजको सबैभन्दा सानो क्रुजर बाइक एभेन्जर स्ट्रिट १६० एबीएस भित्रिएको छ । नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले डिलरमार्फत सामान्य रुपमा यो बाइक बिक्री भएको घोषणा गरेको छ । यसको मूल्य ३ लाख १९ हजार ९ सय रुपैयाँ तोकिएको छ । बजाज नेपालको अफिसियल वेबसाइट तथा फेसबुकमा समेत यसको जानकारी राखिएको छ ।

अन्य विभिन्न कम्पनीहरूले समेत निकट भविष्यमै सार्वजनिक गर्न तयारी गरिएका नयाँ मोडलको बुकिङ खुल्ला गराएका छन् । किया गाडीको आधिकारिक वितरक कन्टिनेन्टल इन्टरप्राइजेजले बहु–प्रतिक्षित क्रसओभर सोनेटको बुकिङ खुल्ला गरेको छ । यो गाडी निकट भविष्यमै नेपाल भित्रिने कम्पनी स्रोतले बताएको छ ।

यस्तै, स्कोडा कारोक पनि केही समयमै नेपाली बजारमा उपलब्ध हुने बताइएको छ । इलेक्ट्रिक कार दिगोले ई ८ मोडलको बुकिङ खुल्ला गरेको छ । सस्तो मूल्यका कारण चर्चामा रहेको दिगो ब्रान्डका अन्य कारहरूसमेत भित्र्याउने तयारीमा रहेको यसको नेपालस्थित वितरक कम्पनी दिगो ग्रुपले जनाएको छ ।

जापानी ब्रान्ड माज्दाको वितरक परिवर्तन भएपछि नयाँ कम्पनी पारामाउन्ट मोटर्सले पनि एकसाथ ३ वटा नयाँ मोडलको बुकिङ खुल्ला गरेको छ । कम्पनीले सीएक्स–५ र सीएक्स–९ मोडलका तीन एसयूभीको बुकिङ खुल्ला गराएको हो । यी गाडीको मूल्य नेपाली बजारमा करोडमाथि पर्छ ।

अन्य कम्पनीहरूसमेत चाडपर्वलाई लक्षित गरी नयाँ मोडलका सवारीसाधन सार्वजनिक गर्ने तयारीमा जुटेका छन् । भारतीय बजारमा हालसालै सार्वजनिक गरिएका नयाँ मोडल दसैंको सन्दर्भ पारेर नेपाल भित्र्याउने तयारीमा ती कम्पनीहरू जुटेका हुन् ।

स्किम तथा अफर

अघिल्ला वर्षहरूमा जस्तै यसपालिको चाडपर्वमा पनि ग्राहकलाई आफ्नो ब्रान्डमा आकर्षण गर्न विभिन्न कम्पनीहरूले स्किम तथा अफर सार्वजनिक गरेका छन् । हालसम्म सार्वजनिक गरिएका स्किम तथा अफरलाई हेर्दा उनीहरू नगद छुटमा बढी केन्द्रित भएको देखिन्छ । गाडीतर्फ टाटा, सुजुकी, हुन्डाई, फोर्ड, इसुजु, डिएफएसके आदि ब्रान्डले स्किम सार्वजनिक गरेका छन् भने बाइकतर्फ बजाज, हिरो, टीभीएस र सुुजुकी आदिले स्किम सार्वजनिक गरेका छन् ।

नेपाली बजारमा सर्वाधिक बिक्री हुने हुन्डाई ब्रान्डले ‘यस पालिको दसैं तिहार, वेलकम टु हुन्डाई परिवार’ ट्यागलाइन सहित सार्वजनिक भएको अफरअन्तर्गत यो अवधिमा गाडी खरिद गर्ने ग्राहकले एक–एक थान अउरा र ग्रान्ड आई टेन नियोस जित्न सक्ने छन् ।

फोर्डले ‘फोर्ड फेस्टिभ अफर’ सार्वजनिक गरेको छ जसअन्तर्गत यो अवधिमा फोर्ड गाडी खरिद गर्ने ग्राहकले ३ वटा स्क्य्राच कार्डमार्फत ४ लाख ५० हजार सम्मको नगद उपहार, ६ महिने इएमआई होलिडे र स्थगित भुक्तानी लगायतका योजना रहेका छन् ।

इसुजुले दसैं अगाडिको स्किम ल्याएको छ, जसअन्तर्गत दसैं अगाडि इसुजुका गाडी खरिद गर्ने ग्राहकले २ लाख नगद छुट पाउने छन् । त्यसैगरी डिएफएसकेले दसैं र तिहारलक्षित स्किम योजनामा आफ्नो एसयूभी ग्लोरी ५६० र ग्लोरी ५८० किन्न चाहने ग्राहकलाई १० लाख डाउन पेमेन्टमा नै गाडी उपलब्ध गराउने जानकारी दिएको छ । कम्पनीले ४ लाख रुपैयाँसम्म नगद छुट वा ६ महिनासम्मको मासिक किस्ता समेत तिरिदिने जनाएको छ ।

होन्डा कारको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले फेस्टिभ बोनान्जा सार्वजनिक गरेको छ । यसअनुसार ४.२५ प्रतिशतसम्म सस्तो ब्याजदरमा होन्डका कार किन्न सकिने छ । होन्डाका कारहरू ३० प्रतिशतसम्मको डाउन पेमेन्टमा किन्न सकिने व्यवस्था गरेको छ । विभिन्न कारहरूमा फरक–फरक छुट अफर प्रदान गरिएको र यसरी गरिने छुटअन्तर्गत एउटै कारमा १० लाख रुपैयाँसम्म छुट पाइने बताइएको छ ।

किया मोटर्सका लागि नेपालस्थित आधिकारिक वितरक कन्टीनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले समेत भारी नगद छुट सहितको स्किम सार्वजनिक गरेको छ । उसले ‘बिगेस्ट सरप्राइज अफ द इयर’ योजना सार्र्वजनिक गरेको हो ।

यस योजनाअन्तर्गत किया स्पोर्टेज र सेल्टोस एसयुभी खरिद गर्ने ग्राहकले ४ लाखसम्म नगद छुट पाउने छन् । यसको अतिरिक्त एक वर्षको बिमा बापतको रकम र सडक करसमेत कम्पनी आफैले तिरिदिने बताइएको छ ।

निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले ‘निसान धमाकेदार दसैं तिहार तथा छठ अफर’ सार्वजनिक गरेको छ । यसअन्तर्गत शून्य प्रतिशत डाउन पेमेन्टमै गाडी किन्न सकिने भएको छ । त्यसैगरी ९ महिनासम्म किस्ता नतिरेर त्यसपछि बल्ल तिर्न सकिने छ । यो विकल्प प्रयोग गर्न नचाहनेले २० लाख रुपैयाँसम्म नगद डिस्काउन्ट प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । गाडी किन्ने ग्राहकले ५० हजार रुपैयाँ सम्मको एसेसरिज प्राप्त गर्नुका साथै एक वर्ष सम्मको इन्स्योरेन्स पनि गर्न सक्ने छन् । ग्राहकले एमआई नोट ९ प्रो म्याक्सका साथै बोसको हाई प्रेसर वासर र विभिन्न सुुविधा प्राप्त गर्न सक्ने जनाइएको छ ।

नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक सीजी होल्डिङ्स अन्तर्गतको सीजी मोटोकर्पले यो वर्षको दसैं तिहारजस्ता चाडपर्वलाई लक्षित गरी सुजुकी पर्वोत्सव योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘यो दसैं तिहारमा सुजुकीको साथ, स्वस्थ भवः सुरक्षित भवः सुखी भवः’ ट्यागलाइनका साथ सो योजना ल्याएको छ ।

यस अन्तर्गत सुजुकीका विभिन्न मोडलका गाडीहरू ३ लाख ५० हजार रुपैयाँसम्म छुट मूल्यमा उपलब्ध हुनेछन् । कुनै ग्राहकले पुरानो गाडीसँग नयाँ गाडी साट्न चाहेमा २ लाख रुपैयाँ सम्म एक्सचेन्ज बोनस उपलब्ध हुनेछ । त्यसैगरी गाडीको मूल्यको २० प्रतिशत मात्र रकम सुरुमा बुझाएर पनि गाडी खरिद गर्न सकिने छ । कम्पनीले एक वर्षको कर छुट र एसेसरिज लगायतका विभिन्न सुविधा समेत उपलब्ध गराउने बताएको छ ।

फोर्स मोटर्सको नेपालका लागि आधिकारिक वितरक आयाम इन्टर–कन्टिनेन्टल प्रालिले दसैं र तिहारको अवसरमा दसैं आशिर्वाद उपहार योजना सार्वजनिक गरेको छ । अफरअन्तर्गत फोर्स मोटर्सको १४ सिट क्षमता भएको ट्रयाक्सक्रुजर जिप खरिदमा ९ महिनासम्म किस्ता व्याज तिर्न नपर्ने, ९ लाख रुपैयाँ मात्र डाउन पेमेन्टमा गाडी निकाल्न मिल्ने, अथवा स्क्र्याच कुपन मार्फत २ लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म पक्कामध्ये कुनै एक अफर ग्राहकले रोज्न सक्नेछन् ।

ट्रयाक्स कार्गोकिङ पिक अपको खरिदमा ८ महिनासम्म किस्ता ब्याज तिर्न नपर्ने, ५ लाख ५० हजार रुपैयाँ मात्र डाउन पेमेन्टमा गाडी निकाल्न मिल्ने अथवा स्क्य्राच कुपनमार्फत १ लाखदेखि ५ लाख रुपैयाँसम्म पक्कामध्ये कुनै एक अफर ग्राहकले रोज्न पाउने बताइएको छ ।
२६ सिट भएको ट्राभलर मिनीबसको खरिदमा ७ महिनासम्म किस्ता ब्याज तिर्न नपर्ने, १२ लाख रुपैयाँ मात्र डाउन पेमेन्टमा गाडी निकाल्न मिल्ने अथवा स्क्य्राच कुपन मार्फत २ लाख देखि ६ लाख रुपैयाँसम्म पक्कामध्ये कुनै एक अफर रोज्न पाइने आयाम इन्टरकन्टिनेन्टलले जनाएको छ ।

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले दसैं अफर सार्वजनिक गरेको छ । यस अन्तर्गत विभिन्न मोडलका कारहरूमा ४ लाख रुपैयाँसम्म छुट प्राप्त हुनेछ । त्यसैगरी एक्सचेन्ज गरिने कारहरूमा ५० हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस प्रदान गरिने छ । प्रत्येक कारमा एक वर्षको सडक कर निःशुल्क उपलब्ध हुनेछ । त्यसैगरी प्रत्येक पुरानो कारको भ्यालुएसनमा सरप्राइज गिफ्ट प्रदान गरिने बताइएको छ । प्रत्येक टेस्ट ड्राइभ गर्ने ग्राहकलाई आकर्षक गिफ्ट समेत प्रदान गरिने छ ।

दिगो ग्रुप अफ कम्पनिजले नेपाली बजारमा उपलबध गराएका विभिन्न विद्युतीय सवारी साधन किन्ने ग्राहकका लागि ‘दिगो सुनौलो अफर’ ल्याएको छ । त्यसैगरी ग्राहकले निःशुल्क एसेसरिज, एक वर्षको सडक कर निःशुल्क र तीन वटा निःशुल्क सर्भिसिङ सुविधा प्राप्त गर्नेछन् ।
नेपाली बजारमा हालै उपलब्ध ई६ मिनीबस, सीएचटीसी ई–बस र डाँफे माइक्रोबस किन्ने ग्राहकलाई लक्षित गरी सो अफर ल्याएको हो । कम्पनीले यी गाडी बुकिङ प्रारम्भ गरेको छ ।

बाइकतर्फ टीभीएस मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टीभीएस दसैंको आशा’ नामक योजना ल्याएको छ । यस अन्तर्गत टीभीएस स्कुटरमा ७ हजार र बाइकमा ९ हजार रुपैयाँ सम्म छुट पाइने भएको छ । त्यसैगरी शून्य प्रतिशत ब्याजदरमा फाइनान्समार्फत् टीभीएस बाइक वा स्कुटर किन्न सकिने छ । यीबाहेक अर्को आकर्षणको रुपमा हरेक हप्ता बम्पर पुरस्कारको रुपमा अपाचे आरआर ३१० बाइक पाउन सकिने छ ।

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले ‘दसैंको पर्व हिरोत्सवको हर्ष’ नामक नयाँ योजना ल्याएको छ । यस योजनाअन्तर्गत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले ५ हजार रुपैयाँ पक्का डिस्काउन्ट, स्क्र्याच कार्ड मार्फत १ लाख रुपैयाँसम्म पाउन सक्ने र बम्पर लक्की ड्र मार्फत एक जनाले १ लाख रुपैयाँ नगद पाउने छन् । यसका साथै प्रत्येक स्क्र्याच कार्डमा १ लाख सम्म नगद छुट र अन्त्यमा १ लाख रुपैयाँ बम्पर उपहार प्राप्त गर्न सकिने छ ।

सुजुकीले ग्राहकका लागि ‘चाडपर्व सबैको हौसला हाम्रो अफर’ ल्याएको छ । यसअन्तर्गत ग्राहकले कुनै पनि सुजुकी बाइक वा स्कुटर किन्दा १२ हजार रुपैयाँ तुरुन्तै छुट पाउने छन् । त्यसैगरी एक वर्ष सम्मको सडक दस्तुर छुट र हेल्मेट समेत पाइने छ । कुनै पनि ग्राहकले फाइनान्स गर्दा वा एक्सचेन्ज गर्दा समेत यी अफर प्राप्त गर्नेछन् ।

इटालियन मोटरसाइकल ब्रान्ड बेनेलीको नेपालका लागि आधिकारिक बिक्रेता केटीएम इन्टरनेसनल ट्रेडिङले टीएनटी १५० आई र टीएनटी१५ मोडलमा एक्सचेन्ज, नगद र शून्य प्रतिशत ब्याज गरी तीन वटा अफर ल्याएको हो । टीएनटी १५० आई मोडलका तीनवटै एक्सचेन्जमा निःशुल्क हेल्मेट दिइनेछ ।

हरेक एक्सचेन्जमा अतिरिक्त १५ हजार नगद मूल्यांकन दिइने कम्पनीले जनाएको छ । नगद अफरअन्तर्गत हरेक मोटरसाइकल बिक्रीमा १५ हजार नगद छुट र २ वर्षसम्म शून्य प्रतिशत ब्याज सुविधा रहनेछ । टीएनटी १५ मोडलमा भने शून्य प्रतिशत ब्याज अफरमा मात्रै निःशुल्क हेल्मेट दिइनेछ ।

होन्डा मोटरसाइकलको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘हर एक नेपालीलाई एक रुपैयाँमा होन्डा मोटरसाइकल’ ट्यागलाइन राखी नयाँ स्किम लन्च गरेको छ । यसअघिको स्किमलाई निरन्तरता दिँदै उसले थप १ लाख रुपैयाँसम्मको नगद छुट अफर सार्वजनिक गरेको छ ।

कम्पनीले यसअघि १ रुपैयाँ डाउनपेमेन्ट, १ रुपैयाँ इएमआई र १ प्रतिशत ब्याजदरमध्ये कुनै एक विकल्पमा होन्डा मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिने आकर्षक स्किम ल्याएको थियो । उक्त स्किमले चर्चा बटुलिरहेको समयमा नेपालीहरूको महान पर्व दसैं र तिहारलाई लक्षित गरी १ लाख रुपैयाँसम्मको नगद छुट र ७ वर्षका लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट थप गरी नयाँ स्किम ल्याएको हो ।

नेपालमा भेस्पा र अप्रिलिया स्कूटरको अधिकारिक विक्रेता दुगड ब्रदर्स एन्ड सन्स प्रालिले बडादसैं तथा तिहारलाई लक्षित गरि बडादसैं तिहार योजना सार्वजनिक गरेको छ । भेस्पा अप्रिलियाले सुरक्षित यात्राको लागि सुरु गरेको सो योजनामा भेस्पा र अप्रिलिया स्कुटर किन्न इच्छुक ग्राहकहरूले स्क्र्याच कार्डमार्फत ५ हजार देखि ५० हजार सम्मको नगद छुट र शून्य प्रतिशत ब्याजदरमा पनि खरिद गर्न सक्नेछन् ।
भेस्पा र अप्रिलियाको अफिसियल हेल्मेट, फुटम्याट, स्कुटर कभर र किरिङका साथै एक आर्थिक वर्षको सडक कर निःशुल्क प्राप्त गर्नेछन् । १५० सीसी भेस्पाको खरिदमा १० हजार रुपैयाँ बराबरको फ्रि पेरिमिटर किट पनि उपलब्ध गराएको छ ।

चाडपर्वको अवसर पारेर आकर्षक स्किम सार्वजनिक गर्दै आइरहेको बजाजले यस वर्ष भने नगद छुटमा बढी जोड दिएको छ । कम्पनीले कुनै पनि मोडलको खरिदमा नगद १० हजार छुट दिने घोषणा गरेको छ । त्यस्तै, ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल किन्ने ग्राहकले शून्य प्रतिशत व्याजदरमा बाँकी रकम सरल किस्ताबन्दीमा बुझाउन पाउने छन् । त्यसैगरी थोरै रकम भएका ग्राहकलाई लक्षित गर्दै २० प्रतिशत डाउन पेमेन्टमा समेत नयाँ मोटरसाइकल दिने योजना अघि सारेको छ ।

नेपाली बजारमा उपलब्ध बीएमडब्ल्युका दुई बाइक बीएमडब्ल्यु जी३१० जीएस र बीएमडब्ल्यु जी३१० आर खरिद गर्न चाहने ग्राहकले ६० हजार रुपैयाँ बराबरको छुट अफर पाउने भएका छन् । नेपालमा बीएमडब्ल्यु बाइकको आधिकारिक वितरक टर्क मोटर्स अन्तर्गतको हिमालय मोटरार्डले लिमिटेड युनिटका लागि मात्र सो अफर उपलब्ध गराउने बताएको छ । सो छुट क्यास र विभिन्न एसेसरिजमा उपलब्ध हुनेछ । यी दुई बाइकको मूल्य क्रमशः १० लाख ९० हजार र ९ लाख ७५ हजार रुपैयाँ छ ।

नेपालमा टुनवालका इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको परिमिता इन्भेस्टमेन्ट कम्पनीले प्रत्येक स्कुटरको खरिदमा १० हजार रुपैयाँ छुट प्राप्त हुने बताएको छ । त्यसैगरी पार्ट्समा ५ हजार छुट हुनेछ भने चार पटक निःशुल्क सर्भिसिङ उपलब्ध हुनेछ । स्कुटर किन्ने ग्राहकलाई ५० हजार रुपैयाँ सम्मको एलजी गिफ्ट भौचर प्राप्त हुने अवसर समेत प्राप्त हुनेछ । -टक्सार म्यागेजिनबाट

 

 



प्रतिक्रिया दिनुहोस !