७ बैशाख २०८१, शुक्रबार

उखु किसानहरुले चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम लामो समयसम्म नपाएपछि राष्ट्रपति गुहारे

प्रकाशित मिति :  9 November, 2020 3:01 pm


काठमाडौं,२४ कार्तिक ।

उखु किसानहरुले चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम समयमा नपाएको भन्दै राष्ट्रपतिलाई गुहारेका छन् ।

किसानहरुले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर ज्ञापनपत्र बुझाउँदै उखु किसानहरुले वर्षौदेखि नपाएको बक्यौता रकम पाउने व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् ।

उखु किसान संघर्ष समितिका संरक्षक राकेशकुमार मिश्रले मन्त्रालयले २०७६ पुस १८ गते उखु किसानसँग गरेको सम्झौता अझै कार्यान्वयन नभएको भन्दै छिटोभन्दा छिटो भुक्तानी पाउने व्यवस्था मिलाईदिन आग्रह गरे ।

उनीहरुले राष्ट्रपतिलाई बुझाएको ज्ञापन पत्रमा किसान र कृषि क्षेत्रका समस्यालाई विशेष प्राथमिकता राखेर देशभरिका किसानलाई सहज वातावरण निर्माण हुन नसक्दा सिंगो देश नै प्रभावित हुँदै गएको उल्लेख छ । खेती, यन्त्र, बीउ, बजार र लगानीको क्षेत्रमा सरकारको ध्यान केन्द्रित हुन नसक्दा किसानहरु प्रभावित हुँदै आएको ज्ञापन पत्रमा उल्लेख छ ।

सरकारले गरेको लगानी र उपलब्ध साधनस्रोतको पनि सदुपयोग गर्न नसकिएको, मौसम, बीउ बिजन, कृषि ऋण, खटिएका कर्मचारी र सञ्चार क्षेत्रबीच सन्तुलन हुन नसक्दा हामीले समय, लगानी, श्रम र बजारको आँकलन गर्न नसकिएको ज्ञापन पत्रमा भनिएको छ । २०७६ माघ ७ गतेभित्र किसानहरुको सम्पूर्ण बाँकी बक्यौता रकम चुक्ता गर्ने लिखित सम्झौता भएपनि सरकारले अहिलेसम्म पनि बक्यौता रकम भुक्तानी गराउन नसकेको गुनासो किसानहरुको छ ।

आगलागी, बाढी, शीतलहर, बीउ, मल, बजार व्यवस्थापन लगायतका प्राकृतिक र कृत्रिम समस्याबाट वर्षौदेखि पीडित हुँदै आएको उनीहरुको तर्क छ ।

जिल्लामा कृषि विकास कार्यालय, पुश कार्यालय खोल्ने, त्यहाँ बजेट जाने, बीउ आउने, आवश्यक सबै कर्मचारी भएपनि त्यहाँ भाषाको समस्याले गर्दा कहिले समयमा औषधी आउने, कुन समयमा मल, बीउ आउने थाहा पाउन नसकेको गुनासो गरे । भेटमा राष्ट्रपति भण्डारीले कृषि प्रधानदेशमा एउटा पनि मल खाद्यको फ्याक्ट्री नहुनु चिन्ताको विषय भएको बताइन ।

“किसानको समस्या समाधान गर्न मेरो तर्फबाट सक्दो सहयोग गर्ने छु” राष्ट्रपति भण्डारीलाई उदृत गर्दै पत्रकार डा. राजेश अहिराजले भने “म यो विषयमा सरकारलाई ध्यानाकर्षण गराउने छु, सक्दो चाँडो यो समस्या समाधान गर्न पहल गर्नेछु ।”

उखु किसानहरुले छठपर्वभन्दा अघि आफूहरुको सम्पूर्ण रकम भुक्तानी नभए मंसिर २७ गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलन गर्ने चेतावनी दिइसकेका छन् ।

हिजो सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई स्मरणापत्र बुझाउँदै उनीहरुले सबै बक्यौता भुक्तानी नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन् । उखु मिलहरुले आफूहरुसँग किनेको उखुको बक्यौता भुक्तानीमा उखु मिलहरुले ढिलाइ गरेको आरोप लगाएका छन् ।

किसानहरुको स्मरणपत्र बुझ्दै मन्त्री भट्टले उखु किसानहरुको सम्पूर्ण समस्या समाधान गर्ने आश्वासन दिएका थिए । मन्त्री भट्टले उखु किसानका भुक्तानी नदिने चिनी मिलका लाई पक्राउ गर्नका लागि गृह मन्त्रालयमा परिपत्र गरिने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस !