१३ बैशाख २०८१, बिहिबार

माओवादी सम्बन्धि पुस्तक भारतको एक विश्वविद्यालयको पाठ्यक्रमबाट हटाइयो

प्रकाशित मिति :  13 November, 2020 9:07 am


‘वाल्किङ विथ द कमरेड्स’ पुस्तककी लेखिका राय

काठमाडाैं, २८ कार्तिक ।

हिन्दू राष्ट्रवादी सङ्गठन राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) निकट आरएसएस निकट अखिल भारतीय विद्यार्थी परिषदको विरोधपछि तिरुनेलवेली (तमिलनाडु) को मनोमोनियम सुन्दरर विश्वविद्यालयको पाठ्याक्रमबाट अरुन्धति रायको पुस्तक हटाइएको छ ।

अरुन्धती रायको किताब ‘वाल्किङ विथ द कमरेड्स’ एम.ए. अंग्रेजी पाठ्यक्रममा सन् २०१७ मा समावेश गरिएको थियो । यो किताब माओवादीसँग उनीहरुकै क्षेत्रमा भएको कुराकानीमा आधारित थियो । गत हप्ता परिषद्का सदस्यहरुले विश्वविद्यालयका कुलपति डाक्टर के.पिचुमणिसँग छलफल गर्दै उक्त किताब पाठ्यक्रमबाट हटाउन माग गरेका थिए ।

 

कुलपति पिचुमणिलाई विद्यार्थी सँगठनलाई बुझाईएको पत्रमा भनिएको थियो,“यो निकै दुर्भाग्यपूर्ण हो कि यो विषय विगत ३ वर्षदेखि पाठ्यक्रममा समावेश गरिएको छ । यसको परिणामस्वरुप नक्सल र माओवादी विचारधारा सिधै विद्यार्थीमाथी थोपरिएको छ । परिषदले यस्तो राष्ट्र विरोधी पाठ्यक्रम समावेश गरिएकोमा जोडदार निन्दा गर्दछ । विश्वविद्यालयले यस विषयमा माफि मागोस र पाठ्याक्रमबाट तुरुन्त हटाईयोस् ।”

 

यस किताबको ठाँउमा एम.कृष्णनको पुस्तक ‘माइ नेटिभ ल्याण्ड: एसेज अन नेचर’ समावेश गरिएको छ । परिषदका दक्षिण तमिलनाडुका संयुक्त सचिव सी.विग्रेशले बीबीसी तमिलसँग भनेका छन्, “हामीलाई थाहा थिएन कि तीन वर्षदेखि यो किताब पाठ्याक्रममा समावेश छ । एम.ए.का पठाई गरिरहेका हाम्रा संगठनका एक छात्रले यस पाठ्यक्रमबारे जानकारी गराए र त्यसपछि हामीले किताबलाई हटाउन निवेदन दियौं । ”

भारतीय जनता पार्टीले यस किताब हटाउने निर्णयको स्वागत गरेको छ । डीएमके र सीपीएमले भने उक्त निर्णयको विरोध जनाएका छन् । विश्वविद्यालयका कुलपतिले भने विद्यार्थीहरुको कल्याणका लागि उक्त निर्णय लिएको तर्क गरेका छन् । ‘वाल्किङ विथ द कमरेड्स’ का लेखिका राय चर्चित लेखिका हुन् जो बुकर पुरस्कारबाट पुरस्कृत भइसकेकी छन् ।

उनी मध्य भारतमा सन् २०१० मा छायाङकनका क्रममा पुगेकी थिइन् र त्यसपछि उनले उक्त पुस्तक लेखेकी हुन् । यस पुस्तकमा उनले माओवादीको अनुभवबारे उल्लेख गर्दै हतियार किन उठाउन पर्यो भन्नेबारे विवरणहरु प्रस्तुत गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !