६ बैशाख २०८१, बिहिबार

कांग्रेस जिल्ला सभापतिहरुले गरे आफ्नै नेतृत्वको आलोचना, सरकार गैरजिम्मेवार बन्दा पनि चुप लागेको आरोप

प्रकाशित मिति :  13 November, 2020 1:01 pm


काठमाडाैं, २८ कार्तिक ।

नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले कोरोना संकटमा सरकार गैरजिम्मेवार बन्दापनि पार्टी गतिवधि ठप्प पारेको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका छन् ।

जिल्ला सभापतिहरुले आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै कोरोना महामारीको बेला सरकारले गैर जिम्मेवारीपन देखाइरहदाँ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नेतृत्व समेत चुप लागेको भन्दै आलोचना गरेका हुन् । कोरोनाको कारण देखाउँदै आसन्न महाधिवेशन समेत रोक्न खोजिएको जिल्ला सभापतिहरुको आशंका छ ।

विज्ञप्तिमा भनिएको छ,”भर्खरै अमेरिकामा राष्ट्रपति निर्वाचन सम्पन्न भयो । भारतको बिहारमा पनि चुनाब सम्पन्न भयो । अरू धेरै देशमा लोकतान्त्रीक गतिविधि कोरनाको कहरका बीचमा पनि कायम राखिरहेका छन् । तर हाम्रो देशमा भने कोरोनाको डरलाई माध्यम बनाएर लोकतान्त्रीक गतिबिधि ठप्प गरिनु राम्रो मान्न सकिँदैन । त्यसैले अब जस्तो सुकै अवस्था भएपनि नेपाली काँग्रेसको आसन्न १४औँ महाधिवेशनका गतिविधिलाई आगाडि बढाउनै पर्छ । काँग्रेसको नेतृत्व यस जिम्मेवारीबाट कुनै बाहनामा पन्छिनु हुँदैन । वर्तमान सरकारको अलोकतान्त्रिक चरित्रको कारण भोलि यहि बहानामा सरकारले चुनाव नगर्न सक्छ र यदि काग्रेसले आफ्नो महाधिवेशन नगर्ने हो भने हामीलाई सरकारको चुनाव नगर्ने बहान बनाउन सक्छ ।”

जिल्ला सभापतिहरुले नेपाली काँग्रेस केन्द्रीय नेतृत्वसँग बिधि-विधान बिपरित यसबीच लिइएका निर्णयहरु तत्काल खारेज गरी पार्टीको लोकतान्त्रिकरण एवं सुदृढ़ीकरणमा ध्यान दिंदै आसन्न १४औँ महाधिवेशनको प्रक्रियालाई शीघ्र अगाडि बढाउन माग गरेका छन् ।

वर्तमान सरकारका जनविरोधी निर्णय, कामकार्वाही बिरुद्ध आन्दोलनको तयारीमा समेत योगदान पुग्नेगरी महाधिवेशनलाई महोत्सवको रूपमा अघि बढाउन  अनुरोध गरिएको रोल्पा जिल्ला सभापति अमरसिंह पुनले जानकारी दिए ।

विज्ञप्तिमा जिल्ला सभापतिहरुले सरकारसँग कोरोना नियन्त्रणको लागि प्रभावकारी भूमिका खेल्न र जनताको निःशूल्क स्वास्थ्य उपचारको व्यवस्था गर्नबाट कुनैकतै बहानामा नभाग्न आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ,”समस्यामा परेका सबै बर्ग पेशाका व्यवसायीहरूलाई राहत प्याकेज उपलब्ध गराउन र भ्रष्टाचार नियन्त्रण गरी कानूनी शासनको माध्यमबाट देश विकासमा आफ्नो सम्पूर्ण वैधानिक शक्ति सदुपयोग गर्न माग गर्दछौँ ।”

कोभिड-१९ को महामारी र संक्रमणका बेला समेत संविधानप्रदत्त जनताका मौलिक अधिकारको बिपक्षमा उभिने वर्तमान सरकार इतिहासकै सबैभन्दा विवादित, भ्रष्ट, बदनाम र जनविरोधी सरकार बनेको दाबी गर्दै कांग्रेस जिल्ला सभापतिहरुले वर्तमान सरकार गरीब, निमुखा, असहाय, किसान, मजदुर, बेरोजगार कसैको पक्षमा नरहेको प्रष्ट भएको दाबी गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ,”शिक्षा, स्वास्थ्य, जनजिविका र सामाजिक सुरक्षाको क्षेत्रमा सरकार पूर्णतः असफल भइसकेको छ । वर्तमान सरकारको कार्यशैली, नीतिगत अस्थिरता र प्राथमिकता निर्धारणमा देखिएका गंभीर विचलनको कारणले देश अहिले राजनीतिक, आर्थिक र सामाजिक रूपमा नै आक्रान्त छ । हुनुपर्ने र गर्नुपर्ने कुनै कार्यहरू भएका छैनन् । नहुनुपर्ने र नगर्नुपर्ने कार्यहरू सरकारका प्राथमिकतामा छन् । सरकारका कुनै पनि कदम जनताका पक्षमा भन्दा आफ्नै स्वार्थ समूहको हीतमा लक्षित छन् ।”

विश्वब्यापी कोरोना महामारीका बेला सरकारले गर्नुपर्ने पूर्व तयारी, सजगता र पूर्वाधार निर्माणमा आवश्यक तदारुकता नदेखाएका कारण संक्रमित तथा अन्य रोगीहरू अस्पतालसम्म नपुगी मर्नुपर्ने अवस्था सिर्जना भएको भन्दै कांग्रेस जिल्ला सभापतिहरुले गरिब,असहाय जनताहरू पैसाको अभावमा उपचार गर्न नसकी र त्यसै मर्नुपर्ने अवस्थामा धकेलिएका भन्दै चिन्त व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !