१५ चैत्र २०८०, बिहिबार

प्रचण्डको प्रस्तावले पार्टी गम्भीर मोडमा पुगेको अनुभूति भएको छ : मुख्यमन्त्री पोख्रेल

प्रकाशित मिति :  14 November, 2020 9:25 am


काठमाडौं,२९ कार्तिक ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य शंकर पोख्रेलले कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा पेश गरेको प्रस्तावले पार्टी गम्भीर मोडमा पुगेको टिप्पणी गरेका छन् ।

पार्टी विवाद समाधानका लागि कसरत गरिरहेका पोख्रेलले नै पार्टी गम्भीर मोडमा पुगेको अनुभूति भएको बताएका हुन् । प्रचण्डको प्रस्ताव पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित भएको पोख्रेलको टिप्पणी छ । उनले सामाजिक सञ्चाल फेसबुकमा आज  भनेका छन्,”सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोप सहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गंभीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरिरहेको छ ।”

उनले पार्टी एकताको रक्षाका लागि वैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन प्रचण्डलाई आग्रह गरेका छन् ।

उनले प्रचण्डको प्रस्तावलाई व्यक्तिगत भएको उल्लेख गर्दै भनेका छन्, “व्यक्तिगत पत्र र संस्थागत प्रस्ताव फरक विषय हो भन्ने सत्य वुझ्न अनुरोध छ ।” अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच आदान प्रदान भएको पत्र र सचिवालयमा पेश भएको प्रचण्डको प्रस्ताव मिडियाहरुमा सार्वजनिक रुपमा छताछुल्ल भएका छन् । पोख्रेल ओलीका विश्वास पात्र समेत हुन् भने पार्टी विवाद मिलाउन सकृय छन् ।

यसले पार्टी विवाद थप जटिल मोडमा पुगेको टिप्पणी भएको छ ।



प्रतिक्रिया दिनुहोस !