१४ बैशाख २०८१, शुक्रबार

सरकारले कोरोना संक्रमको जोखिम नभएका ठाउँमा विद्यालय सञ्चालनको बाटो खोल्यो

प्रकाशित मिति :  18 November, 2020 7:46 am


काठमाडौं ,३ मंसिर ।

सरकारले कोरोना संक्रमणको जोखिम कम भएका ठाउँमा विद्यालय सञ्चालनका लागि बाटो खोलेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को जोखिम नभएका र कम हुँदै जाने स्थानीय तहका विद्यालयमा आलोपालो वा उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालनको बाटो खुलाएको हो ।

मन्त्रिपरिषद्को गत कात्तिक २२ गतेको निर्णयबाट स्वीकृत ‘कोभिड–१९ को सन्दर्भमा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ लाई मन्त्रालयले वेबसाइटमा समावेश गरी स्थानीय तहलाई जोखिमको मूल्याङ्कन गरी क्रमशः विद्यालय खोल्न मार्गदर्शन गरेको हो ।

कार्यढाँचामा क्वारेन्टाइन, आइसोलेसन केन्द्रका रूपमा रहेका विद्यालय पुनः सञ्चालनपूर्व निर्मलीकरणलगायत जनस्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्नुपर्ने उल्लेख गरिएको छ । कार्यढाँचा अनुसार विद्यार्थी भर्ना, विद्यालय सञ्चालन एवं शिक्षण सिकाइ व्यवस्थापन तथा स्थगित परीक्षा सञ्चालनका सन्दर्भमा गर्नुपर्ने मूलभूत कार्यलाई व्यवस्थित बनाउन पनि आग्रह गरिएको छ ।

गत असोज २२ को निर्णयका आधारमा सरकारले सबै तहका परीक्षा सञ्चालनको कार्य शुरु गरिसकेको जनाएको छ । यही मङ्सिर ९ गतेदेखि कक्षा १२ को गत वर्षको परीक्षाको ४० नम्बर प्राप्ताङ्कका लागि प्रत्यक्ष परीक्षा हुँदैछ । सो परीक्षामा विद्यार्थीलाई जहाँ रहेको छ त्यहीँको विद्यालयमा रहेर परीक्षामा सामेल गराउने तयारी छ । परीक्षा अनलाइनबाट पनि दिन सकिने विकल्पमा छलफल भए पनि विद्यमान प्रश्नपत्रको प्रणालीमा यो विधि विश्वसनीय हुनेमा आशङ्का पैदा भएकाले प्रत्यक्ष परीक्षा हुन लागेको हो ।



प्रतिक्रिया दिनुहोस !