१५ चैत्र २०८०, बिहिबार

पत्रकार महासंघद्धारा छठपछि थप आन्दोलनको तयारी,संघसंगठनहरुसंग छलफल

प्रकाशित मिति :  19 November, 2020 6:13 pm


काठमाडौं,४ मंसिर ।

तीन ठूला सञ्चारगृहहरुमा दोस्रो चरणको आन्दोलन घोषणाको तयारी स्वरुप नेपाल पत्रकार महासंघले आज विभिन्न संघसंगठनहरुसंग राय सुझाव लिएको छ ।

महासंघको केन्द्रीय कार्यालयमा आयोजित छलफलमा पत्रकारिता सम्बद्ध संगठनहरुले श्रमजीवी पत्रकारको अधिकार प्राप्तिका लागि महासंघले सम्बद्ध सञ्चारगृहका सञ्चालकको घर घेराउ, सञ्चारगृहमा तालाबन्दी देखि श्रमजीवी पत्रकार ऐन तथा नियमावली कार्यान्वयनका लागि सरकारी निकायलाई समेत चर्को दवाब दिनुपर्ने सुझाव दिएका छन् ।

महासंघले कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्काशित पत्रकारहरुको स–सम्मान पुर्नवहाली, यसबीचको तलब–भत्ता उपलब्ध गराउन, दशैं खर्चलगायतका विगतमा दिँदै आएका सेवा–सुविधासहित बक्यौता चुक्ता गर्न, नियमित पारिश्रमिक उपलब्ध गराउन, घटाइएको पारिश्रमिक बढाएर पूर्ण बनाउन तथा श्रमजीवी पत्रकार ऐन तथा नियमावली अनुसारका सेवा–सुविधा उपलब्ध गराउन आन्दोलन गर्दै आएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष गोविन्द आचार्यले श्रमजीवी पत्रकारको समस्यालाई बार्ता र संवादबाट समाधन नभएका कारण आन्दोलन गर्नु परेको जानकारी दिदै छठ पर्व लगत्तै तीन सञ्चारगृहमा दोस्रो चरणको आन्दोलन गरिने बताए ।

प्रेस संगठनका संयोजक महेश्वर दाहालले सञ्चारगृहका सञ्चालकहरुले एक दिनको घाटालाई हेरे पत्रकारको पारिश्रमिक रोक्न नहुने भन्दै श्रमिकले विगतको नाफा खोज्ने बेला आएको बताए ।

महासंघका उपाध्यक्ष विपुल पोखरेलले पत्रकारको पेशागत सुरक्षाका सवालमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्दा पत्रकारहरु आन्दोलित बन्नुपरेको बताए । महासंघका सचिव तथा श्रमजीवी हित प्रवद्र्धन समितिका संयोजक रामप्रसाद दाहालले श्रमजीवी पत्रकारका माग पुरा नगर्ने तीन ठूला सञ्चारगृहका सञ्चालकहरुको घर घेराउ गर्न संगठनहरुले दिएको सुझाव कार्यान्वयन गरिने बताए । महासंघका सचिव लक्ष्मी पुन र शितल महतोले महासंघको आगामि आन्दोलनका बारेमा धारणा राखेका थिए ।

कार्यक्रममा प्रेस नेपालका अध्यक्ष केशवराज अर्याल, क्रान्तिकारी पत्रकार महासंघका सचिव रनसुर महतारा, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, प्रगतिशील पत्रकार संघका निवर्तामान अध्यक्ष नारायण शर्मा, प्रेस सेन्टर नेपालका अध्यक्ष लोकराज जैशीले महासंघको आन्दोलनमा साथ र सहयोग रहने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस !