१५ बैशाख २०८१, शनिबार

छठ पर्वको अवसरमा प्रधानमन्त्रीको शुभकामना,नवनिर्माणको चरणमा प्रवेश गरेको दाबी

प्रकाशित मिति :  20 November, 2020 8:11 am


फाइल फोटो

काठमाडौं, ५ मंसिर ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीमा मानव स्वास्थ्य सुरक्षाका लागि तोकिएका मापदण्ड अनुशरण गर्दै विशेष सावधानी अपनाएर यसवर्षको छठ पर्व मनाउन आग्रह गरेका छन् ।

छठ पर्वको अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भनेका छन्,”बितेका केही वर्षयता छठ पर्व तराई मधेस र पहाडका नेपाली समुदायबीचको सेतुका रुपमा समेत विकसित हुँदै आएको छ । चाडपर्व र संस्कृतिका दृष्टिले विविधतायुक्त नेपाली समाजमा सौहार्दपूर्ण अन्तरसम्बन्धलाई अझ मजबूत बनाउन यस्ता पर्वहरुले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन् । छठ पर्वको यस उल्लासका बीच विश्वब्यापी रुपमा फैलिएको कोभिड १९ को महामारीलाई हामी सामना गरिरहेका छौं ।”

महामारीले जनताको स्वास्थ्य र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनमा मात्र होइन, मुलुकको समृद्धिको अभियानमा पनि अवरोध पुर्‍याएको भन्दै प्रधानमन्त्री ओलीले जनताको स्वास्थ्यमा कोरोनाले गरेको क्षति न्यूनीकरण गर्दै रोकथाम तथा नियन्त्रणमा सरकारले आवश्यक कदम चाल्दै आएको बताएका छन् । उनले यस महामारीका वाबजुद मुलुकको विकास तथा समृद्धिको यात्रालाई हामीले अघि बढाइरहेको दाबी गरेका छन् ।

जननिर्मित संविधानको संस्थागत कार्यान्वयन मार्फत् मुलुकलाई विकास र समृद्धिको दिशामा अग्रसर गराइरहेको भन्दै प्रधानमन्त्री ओलीले सिंगो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको दाबी गरेका छन् ।

छठ पर्वको अवसरमा राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन प्रधानमन्त्रीले आह्वान गरेका छन् । उनले भनेका छन्, “यसै एकतामार्फत् हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने छौं भन्ने विश्वास दिलाउन चाहन्छु ।”



प्रतिक्रिया दिनुहोस !