१९ माघ २०७९, बिहिबार

प्यूठानको झिमरुकमा प्रयोगात्मक तरकारी खेती,आलु पाठशाला सञ्चालन

प्रकाशित मिति :  24 November, 2020 8:52 am


प्यूठान,९ मंसिर ।

प्यूठानको झिमरुक गाउँपालिकाले कृषि तालिम तथा नर्सरी प्रदर्शनी केन्द्र सञ्चालन गरेको छ । गत वर्षको माघदेखि गाउँपालिकाको केन्द्र नजिकै वडा नं ४ स्थित भ्यागुतेमा केन्द्र सञ्चालनमा ल्याएको हो ।

पालिकाले चार रोपनी जग्गा लिजमा लिई प्रदर्शनी केन्द्रमा कृषकलाई तालिमसँगै विभिन्न तरकारी उत्पादन गर्दै आएको गाउँपालिकाका कृषि शाखा प्रमुख टेकबहादुर विकले जानकारी दिए । अघिल्लो वर्ष अढाइ रोपनीमा सञ्चालन गरिएको फार्म यस वर्ष चार रोपनीमा विस्तार गरिएको उनको भनाई छ ।

पालिकाले कृषकलाई विभिन्न कृषिसम्बन्धी तालिम दिए पनि किसानले खेती नगरेपछि आफैँ जग्गा लिजमा लिई प्रयोगात्मकका लागि खेती गरेको उनले बताए । उनले भने , “अघिल्ला वर्षमा तालिम धेरैपटक दियौँ, तर किसानले तालिमपछि खेती गर्नुभएन ।” पहिले दिएका तालिम कोठामा मात्रै सीमित भएपछि यसलाई व्यवहारतः खेती गर्न प्रदर्शनी केन्द्र सञ्चालनले सहयोग पुर्याएको उनको भनाइ छ । प्रयोगात्मक कृषि तालिम सञ्चालन भएसँगै कृषि गर्न इच्छुक कृषक मात्र तालिममा सहभागी हुने गरेको प्रमुख बिकले बताए ।

पालिका क्षेत्रभित्र सधैँ बाहिरबाट आएको तरकारीमा आत्मनिर्भर हुने देखिएपछि यस क्षेत्रलाई तरकारीमा आत्मनिर्भर बनाउन थप टेवा पुर्याउने विश्वास पालिकाले लिएको छ । पालिकाले सञ्चालन गरेको प्रदर्शनी केन्द्रमा हाल टमाटर, च्याउ, आलु, गाँजर, धनिया, भान्टा, मुलालगायतका तरकारी उत्पादन भइरहेका छन् । त्यस्तै हाललाई प्याज र कोभीका बेर्ना उत्पादन गरिएको छ भने मौसमअनुसारका बेर्नाहरुसमेत राख्ने गरिएको उनले बताए ।

त्यसमध्ये टमाटर, काउली, भान्टा, धनियाँ बिक्रीसमेत भइरहेको छ । बजार क्षेत्रमा भन्दा केन्द्रमार्फत केही सहुलियतमा तरकारी बिक्री गर्दै आएकोसमेत उनले बताए । अबको केही समयमा काँक्रा, करेला लगाउने तयारी भएको प्रमुख बिकको भनाइ छ । उत्पादित तरकारी केन्द्रबाटै बिक्री वितरण हुँदै आएको छ ।

पालिकाले अघिल्लो आर्थिक वर्षमा केन्द्र सञ्चालनका लागि रु चार लाख ७० हजार बजेट विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा रु दुई लाख बजेट विनियोजन गरेको कृषि शाखा प्रमुख विकले जानकारी दिए । अघिल्लो आवमा तरकारी बिक्री वितरणबाट रु ९४ हजार ५ सय र चालु आवको हालसम्म करिब रु ३५ हजार बराबरको तरकारी बिक्री गरेको उनले बताए । तरकारी बिक्रीबाट आएको रकम पालिकाको खातामा राख्ने गरिएको छ । पालिकाभित्र २०७ वटा कृषि समूह तथा कृषि तथा पशुपक्षी फार्म छन् । पकेट क्षेत्रको आधारमा कृषक छनोट गरिएको छ । मौसमीसँगै बेमौसमी खेतीलाई पनि प्राथमिकता दिने पालिकाले जनाएको छ ।

आलु पाठशाला सञ्चालन

पालिकाको कृषि शाखाले हाल आलु पाठशाला सञ्चालन गरेको छ । आलु लगाउनेदेखि आलु लगाउने विधि सिकाउनका लागि पाठशाला सञ्चालन गरिएको हो । पाठशालामा २५ सक्रिय कृषक सदस्य सहभागी छन् ।

गत कात्तिक ३ गते आलु रोपण गरिसकेपछि प्रत्येक हप्ता प्रदर्शनी फार्ममा सहभागी भई आलु लगाउनुका साथै यसको संरक्षण गर्ने विषयमा ज्ञान लिएको समूहका अध्यक्ष भेषा पोखरेलले बताए । उनले भने, “गत कात्तिक ३ गते एक क्विन्टल आलु लगाएका थियौँ, हाल प्रत्येक हप्ता आएर आलुको निरीक्षण गर्छौँ ।”

पहिले परम्परागतरूपमा ड्याङ नपारी आलु लगाउने गरे पनि हाल ड्याङ पारेर आलु लगाउन सिकेको उहाँले बताउनुभयो । घरमा भन्दा यहाँको आलु राम्रो भएको उनको भनाइ रहेको राससले उल्लेख गरेको छ ।  गाउँपालिकाले आफ्नै क्षेत्रमा तरकारी खेती सञ्चालन गर्नुले यहाँका किसानलाई फाइदासमेत पुगेको पोखरेलको भनाई छ । आलु पाठशाला १६ हप्तासम्म सञ्चालन गरिने कृषि शाखा प्रमुख विकले जानकारी   दिए ।



प्रतिक्रिया दिनुहोस !