७ बैशाख २०८१, शुक्रबार

सहकारीले किसानको धान न्यूनतम समर्थन मूल्यमा खरिद गर्दै,कृषकमा आशाको किरण फैलिएको दाबी

प्रकाशित मिति :  25 November, 2020 6:34 pm


काठमाडौं,१० मंसिर ।

यस वर्ष न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न सहकारीहरुलाई परिचालन गरेपछि कृषकहरुमा आशाको किरण फैलिएको सरकारले दाबी गरेको छ ।

विगत वर्षहरुदेखि सरकारले धानको न्यूनतम समर्थम मूल्य तोकेता पनि कृषकहरु आफूले उत्पादन गरेको धान बजार मूल्य नपाएर व्यापारीहरुलाई सस्तोमा बिक्री गर्नु पर्ने बाध्य थिए । तर यस वर्ष सहकारी मार्फत न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न गत कात्तिक ४ गते मन्त्रिपरिषद् बैठकले “न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्थापन गर्ने सम्बन्धी निर्देशिका, २०७७” स्वीकृत गरेको थियो।

निर्देशिका अनुसार नेपाल सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने सहकारीलाई सरकारले खरिद गरेको धानको भण्डारण, सुरक्षा र प्याकेजिङ्ग लगायनका खर्च ब्यवस्थापनका लागि प्रति क्वीण्टल रु. ११२ अनुदान दिने व्यवस्था गरेको छ । तर यसरी खरिद हुने धानको भण्डारण, प्रशोधन, एवम् विक्रिको प्रवन्ध भने स्वयम् सम्वन्धित सहकारीले नै गर्नु पर्नेछ ।

न्यूनतम समर्थन मूल्यमा धान खरिद कार्यक्रम कार्यान्वयन एवम् व्यवस्थापन गर्न जिल्लास्तरमा जिल्ला कार्यान्वयन समिति र मार्गदर्शनको लागि केन्द्रीय स्तरमा निर्देशक समितिको व्यवस्था गरिएको छ ।

उत्पादक कृषकबाट धान खरिद भएको १५ दिन भित्र खरिदकर्ताले सम्बन्धित कृषकको बैंक खातामा रकम भुक्तानी दिनुपर्नेछ। सो को आधारमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको जिल्लास्थित परियोजना कार्यान्वयन इकाई मार्फत अनुदान बापतको एकमुष्ट रकम सम्बन्धित खरिदकर्ता सहकारीको बैक खातामा भुक्तानी गरिने प्रवन्ध गरिएको कृषि मन्त्रालयका प्रवक्ता डा.हरिबहादुर के.सीले जानकारी दिए ।

सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न साना किसान सहकारी संस्था लगायत अन्य सहकारी संस्थाहरु सूचिकृत भै धान उत्पादन हुने तराईका विभिन्न जिल्लाहरुमा धान खरिद प्रकृयामा संलग्न हुन थालेका छन् ।

मंसिर ८ गते सम्म नवलपरासी, रुपन्देही र बर्दिया जिल्लाका साना किसान कृषि सहकारीहरुले करिब ४ हजार १० मे. टन जसमा नवलपरासीमा ५००, रुपन्देहीमा ११३० र बर्दियामा २३८० मे. टन धान खरिद गरिसकेका छन् भने देशभर साना किसान कृषि सहकारीहरुले ९५ हजार मे. टन धान खरिद गर्ने लक्ष्य राखेका कृषि मन्त्रालयले जनाएको छ । यसको अलवा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले करिब ४ हजार ८० मे. टन धान खरिद गरिसकेको छ ।

नेपाल सरकारको बाली लगाउनु पूर्व नै प्रमुख बालीहरुको न्यूनतम समर्थन मूल्य तोक्ने नीति अनुसार २०७७ असार २ गतेको मन्त्रिपरिषद्को वैठकले यस आर्थिक वर्षको लागि मोटा धानको प्रति क्वीण्टल रु. २,७३५ र मध्यम धानको प्रति क्वीण्टल रु. २,८८५ न्यूनतम समर्थन मूल्य तोकेको थियो ।



प्रतिक्रिया दिनुहोस !