ठगीको आरोपमा नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर कुमार न्यौपाने पक्राउ

काठमाडौं,१० मंसिर ।
ठगीको आरोपमा नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन सञ्चालक समितिका अध्यक्ष लम्बोदर कुमार न्यौपाने पक्राउ परेका छन् ।
रामेछाप, मन्थली नगरपालिका, वडा नं ८ घर भई हाल काठमाडौं बस्दै आएका न्यौपानेलाई कलेजको करोडौं रुपैयाँको सम्पति हिनामिना गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।
न्यौपाने समेतको संलग्नतामा सार्वजनिक संस्थाको रुपमा संचालित भक्तपुर चाँगु नारायण न. पा. वडा नं. ४ स्थित नेपाल इन्जिनियरिङ कलेजको सम्पत्ति विभिन्न परिपञ्च गरी संस्थालाई हानी/ नोक्सानी गरी क्षती पुर्याई आफु एवं अन्य संलग्न व्यक्तिहरु समेतलाई लाभ पुर्याई ८ करोड २१ लाख ५३ हजार ६ सय पचास रुपैयाँ तथा लेखा परिक्षणबाट खुल्न आएको बेरुजु सहितको रकम रु २३ करोड १० लाख २३ हजार ४ सय त्रिचालिस रुपैया ५१ पैसा ठगी गर्ने कार्यमा संलग्न रहेको आरोप लागेको छ ।
न्यौपानेलाई ब्यूरोले आज पक्राउ गरेर ठगी सम्बन्धि कसूरमा आवश्यक अनुसन्धान कार्य अगाडी बढाइएको जनाएको छ ।
न्यौपाने विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरण सम्बन्धि कसूरमा अनुसन्धान गरिरहेको छ । उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट घुस सम्बन्धि मुद्धाको कसूरमा धरौटीमा रिहा भएका थिए र उनको मुद्धा बिचाराधिन रहेको छ ।