१२ श्रावण २०८१, शनिबार

मंसिर २९ गते देशभर प्रर्दशन गर्ने कांग्रेसको निर्णय, तत्काल संसद बैठक बोलाउन माग

प्रकाशित मिति :  4 December, 2020 7:25 pm


काठमाडौं,१९ मंसिर ।

नेपाली कांग्रेसले मंसिर २९ गते देशव्यापी प्रर्दशन गर्ने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास काठमाडौंमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले मंसिर २९ गते प्रर्दशन गर्ने निर्णय गरेको हो ।

बैठकपछि मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा “तनहुँ जिल्लामा गत १७ गते सरकारले प्रस्तुत गरेको दमनकारी व्यवहार लगायत देशको विभिन्न भागमा पटक–पटक सरकारबाट प्रस्तुत विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृत्ति तथा कोभिड—१९ को नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनता र अकर्मण्यता तथा स्वास्थ सामग्री खरिदमा गरिएको भ्रष्टाचार देखि अनेकन भ्रष्टाचार काण्ड र बेथिति विरुद्ध यहि मंसिर २९ गते ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने” भनिएको   छ ।

वर्तमान कम्युनिष्ट सरकार निरन्तर रुपमा दमन, भ्रष्टाचार र कोभिड—१९ को अव्यवस्थापनको पर्यायवाची बनेको आरोप लगाउँदै यी विषयहरुमा नेपाली कांग्रेसले निरन्तर रुपमा सरकारलाई खबरदारी गर्दै आएको समेत स्मरण गराईएको छ । तर पनि देशमा यी प्रवृत्तिहरु घट्नुको साटो बढ्दो रहेको कांग्रेसको ठहर छ ।

विज्ञप्तिमा भनिएको छ, “नेपाली कांग्रेस एकातर्फ कम्युनिष्ट सरकारको अधिनायकवादी चिन्तन र व्यवहारका विरुद्ध संघर्षरत छ भने अर्कातर्फ प्रतिगमनका आकांक्षाहरु र सबै खाले भ्रष्टाचार एवं बेथिति विरुद्धमा एक ढिक्का रहेर सडक देखि संसदसम्म प्रस्तुत हुन लाग्दैछ । बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सम्वर्धन नेपाली कांग्रेसकै ऐतिहासिक अभिभारा रहेकोे तथ्यमा हामी प्रष्ट छौं ।”

प्रमुख प्रतिपक्षी दल कांग्रेसले राष्ट्रिय रूपमा उठेका जीववन्त प्रश्नहरूसंगै देश र जनताका ज्वलन्त विषयहरुमा छलफल गर्न संघीय संसदको बैठक बस्न अत्यावश्यक भएकोले संसद बैठक अविलम्ब बोलाउन सरकार र सभामुख समक्ष माग गर्ने निर्णय समेत गरको छ ।



प्रतिक्रिया दिनुहोस !