१२ श्रावण २०८१, शनिबार

सगरमाथाको उचाई ८८४८.८६ कायम, नेपालकै स्रोतसाधन र जनशक्तिबाट पहिलोपटक नापियो

प्रकाशित मिति :  8 December, 2020 8:43 pm


काठमाडौं,२३ मंसिर ।

विश्वको सर्बोच्च शिखर सगरमाथाको उचाइ ८८४८.८६ मिटर कायम भएको छ । नेपाल र चीनले आज भिडियो कन्फरेन्स माध्यमबाट कार्यक्रमको आयोजना गरी संयुक्त रुपमा विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई सार्वजनिक गरिएको हो ।

नेपालले आफ्नै स्रोत, साधन र जनशक्तिको प्रयोग गरी पहिलो पटक सगमाथाको उचाई मापन गरिएको हो । नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका तर्फबाट चिनियाँ विदेशमन्त्री वाङ यीले संयुक्तरुपमा सगरमाथा (चोमोलोङमा)को नयाँ उचाई ८८४८.८६ मिटर घोषणा गरेका हुन् ।

नेपालका तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्«पति विद्यादेवी भण्डारीको सन्देश पढेर सुनाएका थिए । त्यस्तै चीनका तर्फबाट चिनियाँ विदेशमन्त्री यीले चिनियाँ राष्ट्रपती सि जिङफिङको सन्देश पढेर सुनाएका थिए ।

नापी विभागको प्राविधिक कर्मचारीको टोलीले सर्वोच्च शिखर सगरमाथाको आरोहण तथा फिल्ड सर्वेक्षणका माध्यमबाट प्राप्त तथ्याङ्कलाई प्रयोगशालाबाट प्रशोधन गरी नयाँ उचाई निकालिएको थियो । नेपालले सन् २०१८ देखी सर्भेक्षणको काम शुरु गरी उचाई मापनको कार्य शुरु गरेको थियो भने, नेपालले सगरमाथा आरोहण गरेको एक वर्षपछि चीनलले आरोहण गरेको थियो ।

नेपाल र चिनका प्राविधिकद्वारा प्रशोधन गरी निर्देशक समिति तहमा छलफल भई सगरमाथाको उचाइ सार्वजनिक गरिको हो । गत मङ्सिर १० गते बसेको मन्त्रिपरिषद्को बैठकले उचाइ घोषणाको स्वीकृति दिएको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मन्त्री परिषद्मा पेश गर्नुभएको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो ।

गत वर्ष चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो ।

नेपालले हालसम्म आधिकारिक रूपमा उल्लेख गर्दै आएको ८८४८ मिटर उचाइ भारतले सन् १९५४ मा मापन गरेको हो । सन् १९५४ मा भारतले, सन् १९७५ मा चीनले, सन् १९८७ मा इटालीले, सन् १९९२ मा पुन इटालीले, सन् १९९९ मा अमेरिकाले, सन् २००४ मा इटालीले, सन् २००५ मा पुनःचीनले , सन् २०१० मा डेनमार्कले सगरमाथाको उचाई मापन गरेका थिए । तर, ती सबैले फरकफरक मापन निकालेका थिए ।

वि.सं.२०७२ को भूकम्पपछि नापी विभागले काठमाडौं आसपासका केही ठाउँमा गरेको सर्वेक्षणबाट काठमाडौँका विभिन्न ठाउँको उचाइमा परिवर्तन आएको बताएको थियो । त्यसैलाई आधार मानेर धेरैले सगरमाथाको उचाइमा परिवर्तन आएको हुनसक्ने अनुमान गरेका थिए । यस विषयमा विश्वमा समेत सगरमाथाको उचाई घटेको भनेर चर्चा हुन थालेपछि नेपालले पहिलोपटक आफ्नै स्रोत, साधन र जनशक्तिको प्रयोग गरेर सगरमाथाको उचाई मापन गरेको हो ।

२०७५ चैत २७ गते प्रधानमन्त्री केपी शर्मा ओली र भूमी व्यवस्था मन्त्री पद्मा अर्यालले सगरमाथाको उचाई मापन गर्न जाने आरोहण दलको टोलीलाई शुभकामना दिएर पठाएका थिए । प्रमुख नापी अधिकृत खिमलाल गौतमको नेतृत्वमा नापी अधिकृत रविन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धितालसँगै नेपाल माउन्टेन एकेडेमीका प्रशिक्षक छिरिङ जाङबु शेर्पाले सगरमाथाको उचाइ मापन कार्यका लागि सगरमाथाको आरोहण गरेका थिए ।

‘मापनको वैज्ञानिकता र आधिकारिकता थप पुष्टी गरेको छ’

सगरमाथाको उचाई घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको आफ्नो स्रोतसाधन, जनशक्तिबाट उचाई मापन गरी अन्तिम रुप दिइएको सगरमाथाको नयाँ उचाई घोषणा हुँनु नेपाली प्राविधिक क्षमताको पनि नयाँ उचाईको पनि घोषणा भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री ज्ञवालीले सगरमाथाको बारेमा आधिकारिता, वैज्ञानिक तथ्य प्राप्तीसँग आम सहमति पनि भएको बताए । सगरमाथाको उत्तर भूभाग जनवादी गणतन्त्र चिनसँग सम्बद्ध रहेको भन्दै उनले विश्वसनीयताका लागि पनि संयुक्तरुपमा सगरमाथाको उचाई घोषणा गर्नु आवश्यक रहेको बताए ।

“आज सगरमाथाको मात्र होइन नेपाली प्राविधिक क्षमताको पनि नयाँ उचाई घोषणा भएको छ । सगरमाथाको बारेमा आधिकारिक, वैज्ञानिक तथ्य मात्र प्राप्त भएको छैन । की त्यो तथ्यसंग आम सहमति पनि भएको छ”, परराष्ट्रमन्त्री ज्ञवालीले भने , “सगरमाथाको उत्तरी पाटो जनवादी गणतन्त्र चीनसँग सम्बद्ध छ । त्यसो भएकाले यसको विश्वसनीयताका लागि उचाई संयुक्तरुपमा घोषणा गरिनु आवश्यक पनि थियो ।”

नेपालको नापी विभागले उचाई मापन गरी गरेको तथ्यांक प्रशोधन गरेपछि आएको नतिजा चिनियाँ अधिकारीहरुले गरेको सर्भे र उनीहरुले निकालेको तथ्यांक मेल खानुले तथ्यहरुमा कुनै दुविधा वा भ्रमको अन्त्य भएको मन्त्री ज्ञवालीको भनाई थियो । “नेपालको नापी विभागले शुरु गरेर तथ्यांकहरु प्रशोधन गर्दै जुन विन्दूमा ल्याइपु¥याएको थियो । चिनियाँ मित्रहरुको सर्भे र उहाँहरुको तथ्यांक प्रशोधनमा पनि ठ्याक्कै त्यही नतिजा देखापरेका छन् । अब तथ्यहरुमा कुनै दुविधा, कुनै अन्यौल र कुनै भ्रमहरु बाँकी छैनन”, मन्त्री ज्ञवालीले भने , “यसले हाम्रो मापनको वैज्ञानिकता र यसको आधिकारिकता पनि थप पुष्टी गरेको छ । यसअर्थमा आज विशेष दिन, गौरव गर्न लायक र सम्झन लायक दिन हो ।”

मन्त्री ज्ञवालीले उचाई मापनका क्रममा सगरमाथाको आरोहण तथा तथ्यांकहरुको प्रशोधन गरी अन्तिम नतिजा निकाल्नमा आ-आफ्नो ठाउँबाट योगदान गर्ने सबै टिमलाई बधाई तथा धन्यवाद समेत दिए ।

भूमी व्यवस्था मन्त्री पद्मा अर्यालले सगरमाथाको उचाई मापन गरी घोषणा गर्ने इतिहासको दुर्लभ क्षणको साक्षी बनेको बताइन् । उचाई घोषणा कार्यको विशिष्ट अतिथि तथा सगरमाथाको उचाई मापन कार्यको अगुवाई गरेकी मन्त्री अर्यालले आजका दिनमा उचाई मात्र नबढेर नेपालको स्वाभिमान र सम्मान पनि बढेको उल्लेख गरिन् ।

“आज हामी इतिहासको दुर्लभ क्षणको साक्षी बनेका छौं । सगरमाथा मापनको १७० वर्षको इतिहासमा हामीले आफैले आफ्नो श्रोत साधन र जनशक्ति संसारको सर्बोच्च शिखर सगरमाथाको उचाइ मापन कार्य सफलता पूर्वक सम्पन्न गरेका छौं ।

हामीले गरेको मापन कार्यबाट सरगमाथाको उचाई सम्बन्धमा रहेका दुविधापूर्ण स्थिति र आशंकाहरुको अन्त्य भएको छ”, मन्त्री अर्यालले भनिन्, “आजका दिनमा सगरमाथाको उचाई मात्र बढेन हाम्रो मुलुकको स्वाभिमान र सम्मान पनि बढेको छ । राष्ट्रले कुनै पनि क्षेत्रमा उत्कृष्टता हाँसिल गर्दा प्राप्त हुने खुशी र गर्वानुभुति आफैमा अनमोल हुन्छ । त्यसलाइ शब्दमा व्याख्या गर्न र त्यसको मुल्य हिसाब गर्न सकिदैन । यो एउटा विश्व किर्तीमान पनि हो । सगरमाथा शिखरमा सर्वेयरको पहिलो पाइला नेपालबाट परेको छ ।”



प्रतिक्रिया दिनुहोस !