१२ श्रावण २०८१, शनिबार

संसदीय समितिको निर्देशन वेवास्था गर्दै सरकारद्धारा डिआइजी विश्वराज पोखरेललाई एआइजीमा बढुवा

प्रकाशित मिति :  10 December, 2020 8:15 pm


काठमाडौं,२५ मंसिर । 

सरकारले संसदीय समितिको निर्देशन वेवास्था गर्दै डिआइजी विश्वराज पोखरेलको बढुवा गरेको छ ।

आज बसेको मन्त्रीपरिषद् बैठकले पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गरेको हो । हिजो मात्रै संघीय संसदको राज्य व्यवस्था समितिले एआईजी बढुवा प्रकृया रोक्न निर्देशन दिएको थियो । तर, संसदीय समितिले निर्देशन दिएको भोलीपल्ट   मन्त्रिपरिषद् बैठकले  आज पोखरेललाई एआइजीमा बढुवा गरेर कार्य तथा अपराध अनुसन्धान विभागमा पदस्थापन गरेको छ ।

पोखरेल कार्यरत महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा एआइजी हरिबहादुर पालको सरुवा भएको छ । पाल अपराध अनुसन्धान विभागमा कार्यरत थिए । महानगरीय प्रहरीको कार्यालयमा अहिले प्रहरी नायब महानिरीक्षक (डिआइजी)को दरबन्दी कायम रहँदै आएकोमा अब एआइजी राख्ने सरकारले निर्णय गरेको       छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको दबावमा भावी महानिरीक्षकको एकल दाबेदार बनाउने गरी विश्वराज पोखरेलको बढुवा भएको आरोप लागेको छ । गृहमन्त्री रामबहादुर थापाले हिजो मात्रै राज्य व्यवस्था समितिको बैठकमा एआइजी थप्न आफूहरुले सिफारिस नगरेको बताएका थिए ।

मंंसिर १५ गते बढुवा समितिको बैठकले डिआइजी पोखरेललाई एआइजी बढुवाको सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले उनको बढुवा गरेसँगै आगामी आईजीपीका लागि एकल दाबेदार भएका छन् । आईजीपी शैलेश थापा क्षेत्री १९ वैशाख २०७९ मा सेवा निवृत्त भएपछि पोखरेलले प्रहरी संगठनको जिम्मेवारी सम्हाल्ने छन् ।



प्रतिक्रिया दिनुहोस !