१२ श्रावण २०८१, शनिबार

रोल्पामा उत्पादन भएको अलैंची झापामा

प्रकाशित मिति :  20 December, 2020 7:45 am


जुनिसकुमार विष्ट

रोल्पा,४ पौष ।

रोल्पामा उत्पादन भएको अलैंची झापा पुराउने गरिएको छ । जिल्लामा विस्तारै अलैंची उत्पादन हुन थालेपछि ३ टन भन्दा धेरै अलैंची जम्मा गरेर झापा पुराउने गरिएको छ ।

यस वर्ष सुनछहरी गाउँपालिका वडा नम्बर ७ जेलबाङमा रहेको जेलबाङ अलैंची ब्लक समितिले २३ क्विन्टल अलैंची संकलन गरेको छ।

कृषकहरुबाट प्रतिकिलो ५०० रुपैयाँमा संकलन गरि प्याकिङको कार्य भइरहेको समिति अध्यक्ष राज रोकामगरले बताए । कम उत्पादन हुँदा दाङ,बुटवल,भैरहवा,नेपालगन्ज लगायतका बजारमा पुर्‍याउने गरिएको छ । अध्यक्ष रोकाले भने,”३ टन भन्दा बढी उत्पादन हुँदा अलैंची बिकास महासंघ बिर्तामोड,झापामा पुर्‍याउने गरेका छौं ।”

जेलबाङ अलैंची ब्लक कार्यक्रम आ.व. २०७४/०७५ मा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत कृषि ज्ञान केन्द्र रोल्पाले छनोट गरेको थियो।परियोजनाले सुरुमा ३० लाख रुपैयाँ बजेट र अर्को आ.व. २०७५र०७६ मा १० लाख रुपैयाँ गरि अहिलेसम्म ४० लाख रुपैयाँ बजेट अनुदान दिइसकेको अध्यक्ष रोकामगरले जानकारी दिए ।

अध्यक्ष रोकामगरका अनुसार प्राप्त अनुदानबाट २ वटा कृषि संकलन केन्द्र भवन,अलैंची बारीहरुको लागि सिचाइ सम्बन्धि कार्य,अलैंचीको कामको लागि प्रयोग हुने सामाग्री खरिद, दुई वटा अलैंची सुकाउने भट्टी निर्माण, अलैंची बिकासको लागि कृषकहरुको लागि विभिन्न तालिम आयोजना गरिएको अध्यक्ष रोकामगरले जानकारी दिए ।

कृषि ज्ञान केन्द्र लिबाङबाट जेलबाङका ४ वटा कृषक समुहहरु पुरस्कृत भइसकेका छ्न्।कृषि ज्ञान केन्द्र लिबाङले ब्लक बिकास कार्यक्रम अन्तर्गतका किसानहरुको दाता संकलन गरेर प्रतिफलको आधारमा जिल्ला स्तरमै ४ वटा समुहलाई पुरस्कार प्रदान गरेको सुनछहरी गाउँपालिका कृषि शाखा संयोजक शिवकुमार झाले जानकारी दिए ।

जेलबाङको गर्मी स्थानमा भन्दा चिसो स्थानहरुमा अलैंची बढी उत्पादन भएको कृषकहरुको बुझाइ रहेको छ।अलैंचीले भू-क्षय रोक्ने,वन जङ्गल हराभरा बनाउनुको साथै सजिलै प्रतिफल प्राप्त गर्न सकिने भएकोले आफूले अलैंची खेती गरेको कृषक रामसुर पुनले बताए ।



प्रतिक्रिया दिनुहोस !