१५ बैशाख २०८१, शनिबार

गुठीको समस्या चाँडै समाधान हुन्छ : मन्त्री अर्याल

प्रकाशित मिति :  5 December, 2019 10:42 pm


काठमाडाैं, १९ मंसिर

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले गुठीको समस्या चाँडै नै सरकारले समाधान गर्ने बताउनुभएको छ । आज मन्त्रालयमा गुठी बचाऊ अभियानको ध्यानकर्षणपत्र बुझ्दै उहाँले गुठीको समस्या अब लामो समय नरहने बताउनुभयो । विगतको गुठी विधेयकमा पनि गुठी संस्थानले हेरेको राजगुठी, सरकारी र निजी तीनवटा गुठी व्यवस्थित गर्ने कुरामा मन्त्रालय केन्द्रित भएको भन्दै उहाँले निजी गुठी निजी गुठीयाराकै सम्पत्ति भएको बताउनुभयो ।

“निजी गुठीको हकमा गुठीयार ल्याएको कुरा नै हामी मानेर जान्छौँ । बाँकी गुठीको कुरा गुठी संस्थानले नै समस्या समाधान गर्दछ । त्यसमा हुनुहँुदैन”, मन्त्री अर्यालले भन्नुभयो, “हामी गुठीको सम्पत्ति जोगाउने अभियानमा छौँ । सुशासन कायम गर्ने अभियानमा राज्य हो । यो जनता राष्ट्रकै निम्ति फाइदा हुने कुरा हो ।” गुठीयारको हकहितका लागि नै विधेयक फिर्ता लिएको भन्दै उहाँले अब नयाँ ढङ्गबाट विधेयक अगाडि बढ्ने बताउनुभयो ।

गुठीका सम्पत्तिलाई संरक्षणको अभाव रहेको भन्दै गुठीलाई कानूनबाट नै व्यवस्थित गर्नतिर सरकार लागेको बताउनुभयो । सरकारले गुठी विधेयकलगायतका विषयलाई समेटेर नयाँ एकीकृत भूमि विधेयक ल्याउने तयारी गरिएको जानकारी गराउनुभयो । अभियानका संयोजक डा महेशमान शाक्यले सरोकारवाला सबैसँग छलफल गरेर र गुठीयारको पक्षमा विधेयक ल्याउनुपर्ने बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस !