८ बैशाख २०८१, शनिबार

लुम्बिनी प्रदेशको सरकार ढल्छ, अन्य प्रदेशमापनि हेरफेर हुन्छ : लुम्बिनी प्रदेश अध्यक्ष घर्ती

प्रकाशित मिति :  23 December, 2020 9:19 am


काठमाडौं, ८ पुस ।

प्रतिनिधि सभा विघटनसँगै प्रदेश सरकार हेरफेर हुने भएको छ । लुम्बिनी प्रदेश सरकारसहित सबै प्रदेशका सरकार हेरफेर हुने गरि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड नेपाल समूहले गृहकार्य गरेको हो ।

नेकपा लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्तीले लुम्बिनी प्रदेश सरकार हेरफेर हुने बताइन् । उनले भनिन्,”प्रधानमन्त्रीले केही बाँकी नराखेपछि अब लुम्बिनी प्रदेश सरकार पनि हेरफेर हुन्छ र अन्य प्रदेशमा पनि सरकार हेरफेर हुन्छ । अहिले लुम्बिनी प्रदेशका इन्चार्ज तथा ओली पक्षका नेता शंकर पोख्रेल मुख्यमन्त्री छन् ।”

पार्टी विभाजनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा छन् । ८७ सदस्यीय प्रदेश सभामा नेकपाका ६१ सांसद छन् । प्रधानमन्त्री ओली अर्थात् मुख्यमन्त्री पोखरेलको पक्षका ३५ र अर्का अध्यक्ष प्रचण्ड र नेपाल पक्षका २६ सांसद छन् भने कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ र जनमोर्चाका एक सांसद छन् ।

प्रदेश सभामा तत्कालीन एमालेले ४१ सिट जितेकोमा ओली पक्षका ३१ र नेपाल पक्षका १० सांसद थिए । तत्कालीन माओवादीले २० सिट जितेको थियो । गृहमन्त्री रामबहादुर थापा बादलनिकटका दुई सांसद अहिलेसम्म कतै खुलेका छैनन् ।

पोख्रेल बच्न वा सरकार ढाल्न कांग्रेस, जसपा र जनमोर्चाका सांसदमध्यको साथ चाहिने छ । तर, अध्यक्ष घर्तीले अब सबै प्रदेशमा सरकार हेरफेर गर्ने बताइन् । उनले लुम्बिनी सञ्चारसँग भनिन्, “हामीले यस्तो अवस्थाको कुनै कल्पना गरेका थिएनौं तर प्रधानमन्त्रीले यो परिस्थिति सिर्जना गर्नुभयो । अब सरकार, पार्टी सबैको संरचना परिवर्तन हुनु स्वभाविक हो ।”



प्रतिक्रिया दिनुहोस !