१५ चैत्र २०८०, बिहिबार

सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने स्पष्ट व्यवस्था गरिएको छ : सभामुख सापकोटा

प्रकाशित मिति :  23 December, 2020 9:13 pm


फाईल फोटो

काठमाडौं, ८ पुस ।

सभामुख अग्नि प्रसाद सापकोटाले अप्रत्यासित रुपमा प्रतिनिधि सभामाथि अवरोध सृजना गरिएको भन्दै सिंगो प्रतिनिधि सभा र आफूलाई मर्माहत बनाएको बताएका छन् ।

आज बेलुकी विज्ञप्ति जारी गर्दै सभामुख सापकोटाले संविधानको धारा ७६ मा प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने स्पष्ट व्यवस्था गरिएको छ उल्लेख गरेका छन् ।

उनले भनेका छन्,”संविधानको धारा ७६ मा प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने स्पष्ट व्यवस्था गरिएको छ । यस सन्दर्भमा संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा यस्तो व्यवस्था गरिएको हो । विगतका विसंगतिपूर्ण अभ्यासलाई सच्याउँदै स्थिरता र यसमार्फत् समृद्धिको जनचाहनालाई सम्बोधन गर्न प्रतिनिधि सभाको पूर्ण कार्यकालको परिकल्पना गरिएको तथ्य यहाँ स्मरणीय छ ।”

सभामुख सापकोटाले सात दशकयताका बिभिन्न आन्दोलनको जगमा संविधान सभामार्फत् जनताका प्रतिनिधिले बनाएको संविधानको पालना सिंगो मुलुकको प्रमुख कार्यभार भएको उल्लेख गरेका छन् ।

संविधानको रक्षार्थ पुनः एकपटक राजनीतिक दलका बीचमा उच्चस्तरीय समझदारीको आवश्यकता अझ बढेर गएको उल्लेख गर्दै सभामुख सापकोटाले भनेका छन्,”संवैधानिक सर्वोच्चताका लागि माननीय सदस्यहरु, राजनैतिक दल, नागरिक समाज, कानुन व्यवसायी, बुद्धिजीवी, सञ्चारजगत् तथा सम्बद्ध सबै पक्ष संवेदनशील र गम्भीर बन्नुपर्ने बेला आएको छ ।”



प्रतिक्रिया दिनुहोस !