१६ बैशाख २०८१, आइतबार

उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीद्धारा राष्ट्रपतिसँग भेट

प्रकाशित मिति :  27 December, 2020 6:39 pm


 

काठमाडौं,१२ पुस ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग व्यवसायको विकास मार्फत रोजगारी सृजना, आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लाग्न नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वलाई सुझाव दिएकी छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूसँगको भेटमा राष्ट्रपति भण्डारीले भनिन्,“हामीसंग पर्याप्त सम्भाव्यता भएर पनि हामी पछि परेका छौं, प्राकृतिक स्रोत साधनमा हामी धनी छौं, बजारका लागि कुनै समस्या छैन तैपनि पर्याप्त लगानी आउन सकेको छैन, अहिले पनि हामी अरुकै भर पर्नुपर्ने परिस्थिति छ राष्ट्रपतिले भन्नुभयो–रोजगारीका लागि वाध्य भएर वाहिर जानुपर्ने परिस्थितिलाई कसरी अन्त्य गर्न सकिन्छ यसमा तपाईहरू गम्भीर भएर लाग्नुहोस् ।”

 

चुलिदो व्यापार घाटाप्रति पनि राष्ट्रपति भण्डारीले चिन्ता व्यक्त गरेकी छन् । उनले भनिन्,“हर कुरामा हामी वा≈य देशसंग निर्भर रहनु पर्ने अवस्था छ र यो अवस्थालाई कसरी ब्रेक गरी आफना लागि आवश्यक वस्तु आफै उत्पादन गर्न सक्छौं त्यसमा सिंगो मुलुकनै गम्भीर हुन जरूरी छ ।”
स्वदेशी लगानी आकर्षण राज्यको प्रमुख प्राथमिकता हुनुपर्ने र स्वदेशी लगानी आकर्षण हुन सकेमामात्र वाह्य लगानी समेत आकर्षित हुने हुंदा कृषि, उर्जा, पर्यटन क्षेत्रको विकास मार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार निजी क्षेत्र सहकार्यमा राष्ट्रपति भण्डारीको जोड थियो ।

राष्ट्रपतिसँगको भेटवार्तामा महासंघका पदाधिकारीहरूले अहिलेको संकटको अवस्थामा तुलनात्मक लाभका क्षेत्रहरू जस्तो कृषि, पर्यटन, पूर्वाधार निर्माण, उर्जा लगायतका क्षेत्रसंग जोडिएका राष्ट्रिय गौरवका आयोजनाहरू छिटो सम्पन्न गर्न पहल हुनुपर्ने बताएका थिए । उनीहरुले मुलुकभित्र उपलव्ध प्राकृतिक स्रोत साधनको समुचित विकास मार्फत आर्थिक विकास, रोजगारी सृजनामा सरकारको ध्यान जानुपर्ने, संस्थागत सोच अनुरुप विकासका कार्यक्रम अगाडी बढाइनुपर्ने, लगानी सुरक्षा र नीतिगत स्थायित्व लगायतका विषयमा जोड दिएका थिए ।

महासंघका अध्यक्ष शेखर गोल्छाले लाखौ यूवाहरू वेरोजगार रहेको र उनीहरूको व्यवस्थापन यतिखेर मुलुककै लागि चुनौती रहेका बेला महासंघको भिजन पेपरले वार्षिक ४ लाख युवाका लागि रोजगारी सृजना गर्ने र दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्य लिएको उल्लेख गरे । महासंघले विज्ञहरू समेतको सहयोगमा आम सरोकारवाला पक्षहरूसंग छलफल गरी उक्त पेपर सार्वजनिक गरिने र सरकारबाट स्वीकृति लिएर सहकार्यमा लगिने योजना रहेको राष्ट्रपति समक्ष जानकारी गराए ।

अध्यक्ष गोल्छाले कोभिडका कारण मुलुकको आर्थिक वृद्धिदर एक प्रतिशत भन्दा कम हुने प्रक्षेपण भैरहेको सन्दर्भमा समग्र अर्थतन्त्रलाई थप विग्रन नदिन सरकार र निजी क्षेत्र बीचको सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका थिए ।

 



प्रतिक्रिया दिनुहोस !