१४ बैशाख २०८१, शुक्रबार

कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीको ४ संगठनद्धारा विरोध

प्रकाशित मिति :  4 January, 2021 5:20 pm


काठमाडौं । कृषि क्षेत्र तथा उद्योगसँग सम्बन्धित ४ वटा संस्थाले नेपालमा कृषि क्षेत्रमा बैदेशिक लगानीको विरोध गरेका छन् ।

डेरी उद्योग संघ,नेपाल डेरी एशोसियसन, केन्द्रीय पशुपंक्षीपालक सहकारी संघ लि. र नेपाल मत्स्य व्यवसायी संघले विज्ञप्ति जारी गर्दै कृषि क्षेत्रमा सर्तसहित प्रत्यक्ष बैदेशिक लगानी भित्राउन मन्त्रिपरिषद्ले निर्णय गरेको भन्दै विरोध गरेका हुन् ।

आज जारी गरिएको विज्ञप्तिमा भनिएको छ,“कृषि क्षेत्रमा वैदेशिक लगानी खुल्ला भएमा कृषि पेशामा आवद्ध व्यवसायीलाई मजदूर बनाउने र त्यसको लाभ विदेशी लगानीकर्तालाई भई स्वदेशी व्यवसायीहरुको उद्यमशीलता विकासमा कुठाराघाट हुने प्रायःनिश्चित छ ।”

विगतमा पनि कृषि क्षेत्रको प्राथमिक तहमा विभिन्न माध्यमबाट वैदेशिक लगानी भित्राउने अभ्यास भएको चारवटै संघगठनले भनेका छन्, “नेपालमा स्थापित कृषि क्षेत्र सक्षम हुँदाहुँदै स्वदेशी लगानीलाई प्रभाव पार्ने गरी मन्त्रिपरिषदको निर्णयबाट कृषि क्षेत्रमा सर्तसहित प्रत्यक्ष वैदेशिक लगानी(एफडीआई) भित्राउन लागिएको भन्ने खबरले प्राथमिक कृषि क्षेत्रमा हामी किसान तथा सम्पूर्ण उद्यमीहरु त्रसित भएका छौं ।”

यसरी कृषिको प्राथमिक तहमा विदेशी लगानी खुल्ला भयो भने एकातर्फ नीजि तथा सरकारी क्षेत्रको अर्बौ लगानी जोखिममा पर्ने सम्भावना भएको भन्दै उनीहरुले त्यसको नकारात्मक असर रोजगारीमा पर्न गई ग्रामिण क्षेत्रका किसानको हातमुख जार्ने मुख्य आयआर्जनको बाटो समेत अवरुद्ध हुने उल्लेख छ ।

अहिले नेपालमा माहुरीपालनमा ४ अर्ब, माछापालनमा झण्डै ११ अर्ब,डेरी उद्योगमा ३० अर्ब दाना तथा कुखुरापालनमा ४० अर्ब गरि कुल ८५ अर्बको लगानी भएर १५ लाख भन्दा बढी कृषि तथा श्रमिकहरुमा रोजगारी सृर्जना भइरहेको र वैदेशिक लगानी खुल्ला नगर्न चारवटै संगठनको माग छ ।



प्रतिक्रिया दिनुहोस !