१६ चैत्र २०८०, शुक्रबार

कृषिमा वैदेशिक लगानी भित्राउन सरकारले ऐन संसोधन गरेपछि कृषि उद्यम क्षेत्र विरोधमा

प्रकाशित मिति :  5 January, 2021 1:27 pm


काठमाडौं ।  सरकारले कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भित्राउने गरि अध्यादेश मार्फत ऐन संसोधन गरेपछि कृषि उद्यम क्षेत्र विरोधमा उत्रिएको छ ।  नेपालमा स्थापित कृषि क्षेत्र सक्षम हुँदाहुँदै स्वदेशी लगानीलाई प्रभाव पार्ने गरि निर्णय भएको भन्दै कृषि उद्यम क्षेत्र विरोधमा उत्रिएको हो ।

पत्रकार सम्मेलन गर्दै डेरी उद्योग संघ, नेपाल डेरी एशोसियसन, केन्द्रीय दुग्ध सहकारी संघ लि. नेपाल, केन्द्रीय पशुपंक्षीपालन सहकारी संघ लि.ले आज पत्रकार सम्मेलन गरेर भनेका छन्,“ निजी क्षेत्रको अर्बौको लगानी भएको अवस्थामा प्रमुख सरोकारवालासँग कुनै सर सल्लाह विना राष्ट्र र किसानको हित विपरित अपरदर्शी रुपमा गरिएको निर्णयले राष्ट्रको अर्थतन्त्रमा गम्भीर दीर्घकालिन असर पर्ने देखिन्छ ।”

पत्रकार सम्मेलनमा जारी संयुक्त विज्ञप्तिमा भर्खरै केही समय अघि मात्र लोकतान्त्रिक पद्धतिबाट दुबै सदनबाट पारित भई आएको ऐनलाई काम चलाउन सरकारले राजनैतिक अस्थीरताको फाईदा उठाउँदै ४ महिनापछि आउने ताजा जनादेश समेतको वेवास्था गर्दै ऐनको दफाले दिएको अधिकारको दुरुपयोग गरि कृषिमा वैदेशिक लगानी ल्याउने गरि भएको निर्णयको गम्भीर असर ग्रामिण रोजगारीमा पर्न गई यस पेशामा आवद्ध व्यवसायीहरुलाई मजदुर बनाउने उल्लेख छ ।

साथै नेपालको कृषि क्षेत्र विदेशी लगानीकर्ताको हातमा जाने , स्वदेशी व्यवसायीहरुको उद्यमशीलता विकासमा कुठाराघात र किसानको हातमुख जोर्ने मुख्य आयआर्जनको बाटो समेत अवरुद्ध भई देश चरम गरीबी तर्फ धकेलिने निश्चित प्रायः भएको उनीहरुको दाबी छ ।

नेपालमा माहुरीपालनमा ४ अर्ब, माछापालनमा करिब ११ अर्ब,डेरी उद्योगमा ३० अर्ब, दाना तथा कुखुरापालनमा ४० अर्ब गरी कुल ८५ अर्बको लगानी भई करिब १५ लाख भन्दा बढी कृषक तथा श्रमिकहरुमा रोजगारी सृजना भएको उद्यमीहरुको भनाई छ ।

सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा विदेशी लगानी निषेध गरिएका क्षेत्रलाई संसोधन गर्दै पशुपन्क्षी पालन, माछापालन, मौलिपालन,फलफूल,तरकारी, तेलहन,दलहन,दुग्ध व्यवसाय क्षेत्रमा प्रत्यक्ष वैदेशिक लागनी भित्राउने गरि संसोधन गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस !