१२ श्रावण २०८१, शनिबार

अदालतलाई दबाव र प्रभावमा पार्न हुँदैन : अध्यक्ष थापा

प्रकाशित मिति :  10 January, 2021 12:46 pm


कास्की । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटन सम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले अदालतलाई दबाव र प्रभाबमा पार्ने काम कहीँ कतैबाट गर्न नहुने बताएका छन् ।

मिडिया नेपालले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले प्रधानमन्त्रीको सफारिसमा संसद् विघटन सम्बन्धी निर्णयले संवैधानिक जटिलता सिर्जना गरेको उल्लेख गरे । संवैधानिक प्रावधानमा केही अस्पष्ट रहेकाले सो अस्पष्टतालाई निरुपण गर्ने काम पनि अदालतले गर्ने अध्यक्ष थापाको भनाई थियो ।

उनले भने , “प्रतिनिधिसभा विघटनका अवस्थामा अदालतमा विचाराधीन विषयमा सरकारको पक्षबाट होस् वा सडकबाट होस् कहीँ कुनै पक्षबाट पनि सर्वोच्चलाई दबाब र प्रभावमा पार्ने काम गर्नुहुँदैन भन्ने हाम्रो मान्यता छ । संबैधानिक अस्पष्टताका बारेमा अदालतले नै फैसला दिनेछ ।”

उनले हाल देशमा विकसित परिस्थितिलाई विगतका त्रुटि र कमजोरी सच्चाउने तथा विकृति र विसङ्गतिबाट मुक्त गराउने एक अवसरका रुपमा प्रयोग गर्नुपर्ने धारणा राखे ।

राप्रपाले हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाका लागि देशव्यापी जनप्रर्दशन, सभा र भेला आयोजना गरिरहेको अध्यक्ष थापाले बताए । उनले सङ्गठन सुदृढीकरण,महाधिवेशनको तयारी र जनसङ्घर्षलाई एक अर्काका परिपूरकका रुपमा अघि बढाइएको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !