११ बैशाख २०८१, मंगलबार

९ दिन कार्यकाल बाँकी तर ट्रम्प विरुद्ध महाअभियोग प्रस्ताव पेश

प्रकाशित मिति :  12 January, 2021 7:55 am


काठमाडौं । गतहप्ता अमेरिकी संसद भवनमा हिंसा भड्किएको विषयलाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध महाअभियोग प्रस्ताव पेश भएको छ ।

तल्लो सदन हाउस अफ रिप्रिन्टेटिभमा डेमोक्र्याट सांसदहरूले ट्रम्पविरूद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका हुन्। अमेरिकी संसदमा दर्ता भएको महाअभियोगमा ट्रम्पमाथि हिंसा भड्काउन प्रोत्साहन गरिएको आरोप लगाइएको छ ।

राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएको प्रमाणित गर्न संसद बैठक बसेका बेला भएको उक्त हिंसामा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको थियो।

सभामुख न्यान्सी पेलोसी सहित डेमोक्रेटिक पार्टीका अन्य नेताहरु राष्ट्रपति ट्रम्पलाई छिटो व्हाइट हाउसबाट बाहिर निकाल्न चाहन्छन् । राष्ट्रपति ट्रम्पलाई तत्काल सत्ताबाट हटाउने एक तरिका महाअभियोग हो र जसमा सभामुख पेलोसीको बढी जोड छ । ट्रम्पको कार्यकाल सकिन अब ९ दिनमात्र बाँकी छ। ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश भएको यो दोस्रो पटक हो ।

हाउस अफ रिप्रिन्जेन्टेटिभमा बहुमतका नेता स्टेनी होयरले दुई दिनमा ट्रम्पले राजीनामा दिएनन् वा उनलाई उपराष्ट्रपति माइक पेन्सले हटाएनन् भने बुधबार महाअभियोग प्रस्तावमा मतदान हुने बताए।

तल्लो सदनबाट महाअभियोग पारित भए अमेरिकाको इतिहासमै दुई पटक महाअभियोग लाग्ने ट्रम्प पहिलो राष्ट्रपति हुनेछन्। तल्लो सदनमा डेमोक्र्याटहरूको बहुमत भएकाले महाअभियोग सजिलै पारित हुने बीबीसीले जनाएको छ ।

सिनेटबाट पनि महाअभियोग पारित भयो भने ट्रम्पले सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा भने उम्मेदवारी दिन पाउने छैनन्। यसअघि गत वर्ष पुसमा ट्रम्पविरूद्ध पहिलो पटक महाअभियोग प्रस्ताव ल्याइएको थियो।

 



प्रतिक्रिया दिनुहोस !