७ बैशाख २०८१, शुक्रबार

संविधान कोमामा रहेकोले आन्दोलनको बलमा बचाउनुपर्छ : प्रचण्ड

प्रकाशित मिति :  18 January, 2021 5:57 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष   पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको विवादलाई लिएर पदसँग जोडेर हेर्ने गरिएकोमा आपत्ति जनाएका छन् ।

पार्टी भित्र विधि र विधानको विवाद नभएको भन्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको निर्णय नमानेर अहिले संकटको अवस्था आएको दाबी गरे ।

अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई आज काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीभित्रको समस्याको विषयमा छलफल नै नगर्ने र बहुमतको निर्णय पनि ओलीले नमानेको कारण अहिलेको स्थिति आएको दाबी गरेका हुन् ।

उनले जेमा सहमति भएको थियो त्यो माथि ओलीले अतिक्रमण गरेको उल्लेख गर्दै राजनीतिक प्रतिवेदन नै एकताको आधारमा तयार भएको बताए । उनले भने,“केपीजिले सहमतिको भाषा भन्दा बाहिर गएर पार्टी फुटाएका हुन् । ओली इमान्दार भएको भए पार्टीमा समस्या आउने थिएन । नियम र विधि नमान्दा पार्टी विभाजित भयो ।”

उनले थप भने,“जेटका दुई पाइलट थियौं तर ओलीले एक्लै जहाज उडाउन खोजे । आफू अगाडि बसेर मलाई पछाडि बस भन्यो मैले पनि खुरूखुरू माने, त्यहि मेरो गल्ती भयो । समस्या पनि त्यहिबाट सुरू भयो । मैले पनि ओलीले भनेको खुरुखुरु माने अनि उनमा महत्वकाङ्क्षा बढ्दै गयो । उनी एकलौटी रुपमा चल्न थाले । पार्टीमा समस्या आयो ।”

अध्यक्ष प्रचण्डले केपी ओलीका कारण अहिलेसम्म प्राप्त उपलब्धी हत्या गर्ने काम गरेको आरोप लगाए । ओलीले संविधानमा नै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभाको विघटन नभई संविधानकै विघटन गरेको प्रचण्डको भनाई छ । अध्यक्ष प्रचण्डले संविधान अहिले कोमामा रहेकोले आन्दोलनको बलमा बचाउनुपर्ने जोड दिए ।

आफ्नो र माधवकुमार नेपालको सम्बन्ध केपी ओलीसँगको जस्तो नभएको उल्लेख गर्दै प्रचण्डले भने, “हामी विधि र विधान अनुसार चल्छौं नकि जालझेलले ।”



प्रतिक्रिया दिनुहोस !