१९ बैशाख २०८१, बुधबार

निर्वाचन आयोगद्वारा सबै प्रदेश र स्थानीय तहमा सम्पर्क व्यक्ति तोक्ने निर्णय

प्रकाशित मिति :  20 January, 2021 6:31 pm


काठमाडौं । निर्वाचन आयोगले सबै प्रदेश र स्थानीय तहमा सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको छ ।

आयोगले भनेको छ, “स्थानीय स्तरमा मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने, निर्वाचन तथा मतदाता शिक्षा कार्यक्रम, निर्वाचनसँग सम्बन्धित विभिन्न सूचना तथा सन्देशको सम्प्रेषण गर्ने लगायतका कार्यहरु सञ्चालन गर्न र आयोगबाट तोकिएका कार्यहरुमा आवश्यक सहयोग र समन्वयका लागि निर्वाचन आयोगले सबै प्रदेश र स्थानीय तहमा एक÷एकजना सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको छ ।”

सबै प्रदेशमा निर्वाचन सम्बन्धी बिषयमा आवश्यक समन्वय गर्न सम्बन्धित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव वा सो सरहका एकजना कर्मचारीलाई निर्वाचन सम्पर्क व्यक्ति तोकी आयोगमा जानकारी गराउने व्यवस्थाका लागि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनुरोध गर्ने आयोगले निर्णय गरेको छ ।

त्यस्तै स्थानीय तहमा शिक्षा वा सामाजिक बिषयसँग सम्बन्धित शाखाको प्रमुखलाई निर्वाचन सम्पर्क व्यक्ति तोकी आयोगमा जानकारी गराउने व्यवस्थाका लागि नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गरिएको प्रवक्ता राजकुमार श्रेष्ठले जनाएको छ । आयोगले प्रदेश र स्थानीय तहमा रहने सम्पर्क व्यक्तिको कार्यविवरण समेत स्वीकृत गरेको छ ।



प्रतिक्रिया दिनुहोस !