११ बैशाख २०८१, मंगलबार

दाङबाट काँकडभिट्टा जाँदै गरेको बस सर्लाहीमा दुर्घटना, दाङका २ जनाको मृत्यु

प्रकाशित मिति :  21 January, 2021 10:12 am


सांकेतिक फोटो

सर्लाही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाही हरिवनमा भएको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत हरिवन नगरपालिका–४ स्थित सशस्त्र प्रहरी बेस क्याम्प नजिकै दाङबाट काँकडभिट्टातर्फ हिँडेको यात्रुबस दुर्घटना हुँदा घटनास्थलमै एक जनाको र उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमा एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।

दाङबाट काँकडभिट्टातर्फ हिँडेको ना ५ ख ४४८८ नम्बरको यात्रुबस आफैँ अनियन्त्रित भई रोडदेखि १० मिटर तल पल्टिँदा बसमा सवार ३० जनामध्ये दुईको मृत्यु भएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।

चालकसहित पाँच जनाको अवस्था गम्भीर रहेका कारण उनीहरूलाई न्युरो अस्पताल वीरगञ्ज उपचारका लागि पठाइएको छ । अरु तीन जनाको नमूना अस्पताल हरिवनमा उपचार भइरहेको छ । नौ जनाको अवस्था सामान्य रहेका कारण स्वाभिमान अस्पताल हरिवनमा उपचार भइरहेको प्रहरीले जनाएको राससले उल्लेख गरेको छ ।

आज बिहान करिब ४ः५० बजे भएको दुर्घटनामा मृत्यु हुनेमा दाङ राप्ती गापा–५ का ३६ वर्षीया राजकुमारी चौधरी र दाङ राप्तीका २३ वर्षीया की रीता चौधरी रहेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए । बाँकी ११ जना सकुशल रहेको सर्लाही प्रहरीले जनाएको  छ ।



प्रतिक्रिया दिनुहोस !