१४ बैशाख २०८१, शुक्रबार

प्रचण्ड-नेपाल समूहको पत्रकार भेलामा नारायणकाजी श्रेष्ठ बहिष्कार !

प्रकाशित मिति :  21 January, 2021 6:13 pm


काठमाडौं । पुस ५ गते प्रतिनिधि सभा विघटनपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भयो । पार्टी विभाजनपछि भातृ सँगठन विभाजन प्रकृया तिब्र छ ।

एउटा समूहको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड-नेपाल पक्षले गरिरहेको छ । यसक्रममा नेकपा निकट प्रेस संगठन,नेपाल पनि विभाजित भएको छ ।

एउटै नाममा दुईवटा छुट्टा छुट्टै राष्ट्रिय सम्मेलन भए । ओली पक्षको प्रेस संगठन,नेपालले आजै काठमाडौंमा राष्ट्रिय भेला गरेको छ । प्रचण्ड नेपाल समूहले माघ ६ गते काठमाडौंमै प्रेस संगठन,नेपालको राष्ट्रिय भेला गर्‍यो । भेलामा उक्त समूहका अध्यक्ष माधवकुमार नेपाल,पुष्पकमल दाहाल प्रचण्ड, स्थायी कमिटी सदस्य योगेश भट्टराईको उपस्थिति थियो ।

मञ्चमा समूहका प्रवक्ता तथा प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठ देखिएनन् । सम्मेलनका बेला प्रवक्ता श्रेष्ठ कतै कार्यक्रममा व्यवस्त भएको आँकलन गरिएपनि त्यस्तो नभएको खुलेको छ । श्रेष्ठलाई राष्ट्रिय सम्मेलनमा नबोलाइएको खुलेको हो । श्रेष्ठलेपनि आफूलाई सम्मेलनमा नबोलाइएको पुष्टि गरेका छन् । लुम्बिनी सञ्चारसँग कुरा गर्दै उनले भने, “मलाई बोलाइएन ।”

किन यस्तो भयो भन्ने प्रश्नमा श्रेष्ठले भने, “पछि छलफल गर्दै जाउँला अहिले यो संघर्षको बेला हो अहिले संघर्षमा जाउँ ।”

प्रेस संगठनको राष्ट्रिय भेलाको दिन प्रवक्ता श्रेष्ठले कतै कार्यक्रम पारेका थिएनन् । उनी सम्मेलनमा जाने तयारीका साथ बसेका थिए । तर उनलाई बोलाइएन । कार्यक्रममा स्थायी कमिटी सदस्य योगेश भट्टराई उपस्थित भएर सम्बोधन गरे । भट्टराई तत्कालिन नेकपा एमालेको प्रचार विभाग प्रमुख थिए ।

पार्टी नफुट्दै श्रेष्ठ नारायणकाजी श्रेष्ठ प्रचार विभाग प्रमुख थिए । र पार्टी विभाजनपछि पनि प्रचण्ड नेपाल समूहमा छन् र उनको जिम्मेवारी यथावत छन् । तर प्रचार विभाग प्रमुखलाई नै पत्रकार संगठनको भेलामा नबोलाएपछि हल्लाखल्ला सुरु भएको छ ।



प्रतिक्रिया दिनुहोस !