७ बैशाख २०८१, शुक्रबार

लुम्बिनीको मायादेवी मन्दिर परिसरमा टिकटक भिडियो बनाउन रोक

प्रकाशित मिति :  23 January, 2021 1:19 pm


रुपन्देही । लुम्बिनी विकास कोषले मायादेवी मन्दिर परिसरमा सामाजिक सञ्जाल टिकटकका लागि भिडियो बनाउन रोक लगाएको छ ।

लकडाउनपछि खुलेको  लुम्बिनीको मायादेवी मन्दिर परिसरमा टिकटक बनाउन रोक लगाइएको हो ।  कोषले सार्वजनिक सूचना जारी गरेरै टिकटकमा रोक लगाएको छ ।

कोष सदस्य सचिव सानुराजा शाक्यले मायादेवी मन्दिरमा टिकटक बनाएको देख्दा पर्यटहरुमा नकारात्मक सन्देश जाने भएकाले रोकिएको बताए ।

लुम्बिनी सञ्चारसँग उनले भने,”मायादेवी मन्दिर परिसर भनेको अलिकति शान्तिपूर्ण ध्यान गर्ने ठाउँ भयो, पर्यटकहरु बुद्धको जन्मस्थानमा आएको भनेर सोंचेरै आउँछ नि त, मन नै खुशी भएर आउँछन्, त्यस्तो ठाउँमा टिक टक बनाउनेहरु नाच्ने उफ्रने गरेको देख्दाखेरी त्यसको प्रभाव त्यति राम्रो देखिएन ।”

कोरोना संक्रमणका कारण ८ महिनासम्म मायादेवी मन्दिर बन्द थियो ।

मंसिर तेस्रो सातादेखि स्वास्थ्य मापदण्ड अपनाएर मन्दिर खुल्ला गरिएपछि आन्तरिक पर्यटक बढ्न थालेको लुम्बिनी विकास कोषले जनाएको छ। सदस्य सचिव शाक्यले भने,” अहिले धेरैजसो आन्तरिक पर्यटकहरु आउने गरेका छन् । दैनिक १५ सय देखि २ हजार पर्यटकसम्म आउने गरेका छन् ।”

लुम्बिनी घुम्नका लागि अहिलेको मौसम उपयुक्त मानिन्छ ।



प्रतिक्रिया दिनुहोस !