१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीलाई अदालतको अवहेलनामा कारबाही गर्न बारका चार पूर्वअध्यक्षको अपील

प्रकाशित मिति :  24 January, 2021 4:00 pm


काठमाडौं । प्रधानमन्त्री केपी ओलीबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको अपमान र मानमर्दन भएको भन्दै नेपाल बार एशोसिएसनका चार जना पूर्वअध्यक्षहरुले आपत्ती जनाएका छन् ।

वरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीले आज संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति कानुन व्यवसायमाथिकै निर्लज्ज प्रहार भएको टिप्पणी गरेका छन् ।

“प्रधानमन्त्रीद्वारा अभिव्यक्त एकजना बाजे वकिललाई पनि लिएर गएछन् बहस गर्न, के तमासा गरेको हो यो भन्ने अभिव्यक्ति र वकिलले कुरा फिट्या फिट्यै छन् तर ढुक्क होनुहोस् प्रतिनिधिसभा पुर्नस्थापना हुँदैन भन्ने अभिव्यक्ति तथा यस अघि पनि कानुनव्यवसायीहरुलाई स्यालजस्तो म्याउम्याउ गरेका छन् सर्वोच्च अदातलमा बहस गर्ने वकिललाई त्यति पनि थाहा नहुने ? के गर्छन् ती वकिलले, भनी सार्वजनिक समारोहमा गरिएका प्रमका अभिव्यक्तिले संविधानद्वारा संरक्षित कानुन व्यवसायमाथि नै धावा बोलिएकाले लोकतन्त्रका पहरेदार कानुन व्यवसायीमाथिको यो प्रहारलाई मुक दर्शक भएर सहन गर्न सकिदैनु,” विज्ञप्तिमा भनिएको छ, “प्रमको यो अभिव्यक्तिले अदालतमा विधाराधीन मुद्दालाई समेत प्रतिकुल असर गर्ने प्रयास भएकाले यस विषयलाई हामीले गम्भीरतापूर्वक लिएका छौं।”

आफ्नो विपक्षमा बहस गरेकै आधारमा अपमान गर्ने, होच्याउने र दुर्वाच्य वचनले प्रहार गर्ने कुरा प्रधानमन्त्रीको शक्तिको अहंकर र उन्माद भएको उनीहरुको ठहर छ।

संसद पुनःस्थापनाको पक्षमा बहस गरेका ९५ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गरेर प्रधानमन्त्री ओलीले “एकजना बाजेु वकिललाई लिएर तमासा गर्न गएछन्” भनेका थिए ।

विज्ञप्तिमा भनिएकोछ,”उक्त अभिव्यक्तिका विरुद्धमा उभिन नेवाए र देशभरका कानून व्यवासीहरुलाई अनुरोध गर्दै यस सम्बन्धमा प्र.म.लाई सार्वजनिक क्षमायाचना गर्न र अदालतको अपहेलनाजन्य कार्य गरेवापत उहाँलाई जवाफदेही बनाउन यसै विज्ञप्ति मार्फत सम्बन्धित निकायको ध्यानकर्षण गराउन चाहन्छौं ।”



प्रतिक्रिया दिनुहोस !