११ बैशाख २०८१, मंगलबार
नेकपा विभाजन

नेकपाको सांगठनिक लडाईं दोस्रो चरणमा,ओलीलाई साधारण सदस्यबाट हटाउने प्रचण्ड-नेपाल समूहको निर्णय

प्रकाशित मिति :  24 January, 2021 8:13 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सांगठनिक लडाईं दोस्रो चरणमा प्रवेश गरेको छ ।

प्रचण्ड-नेपाल समूहको आज बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने निर्णयसँगै नेकपाको सांगठनिक लडाईं दोस्रो चरणमा प्रवेश गरेको हो ।

आजको बैठकको निर्णय सुनाउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,”यसअघि पार्टीको केन्द्रीय समितिको बैठकले अध्यक्षको जिम्मेवारीबाट मुक्त गरिनुभएका केपी ओलीलाई केन्द्रीय कमिटिको बैठकले दिएको अधिकार प्रयोग गर्दै पार्टीको साधारण सदस्यताबाट समेत हटाउने निर्णय गरेको छ ।”

यसअघि प्रचण्ड-नेपाल समूहले ओलीलाई पार्टी अध्यक्षबाट मात्रै हटाउने निर्णय गरेको थियो । अहिलेसम्म दुबै पक्षले जिम्मेवारीबाट हटाएको निर्णय गर्दै आएपनि साधारण सादस्यबाटै हटाएको निर्णय भने गरेका थिएनन् । दुबै पक्षले आफू आधिकारिक भएको दाबी गर्दै एकले अर्कोलाई जिम्मेवारीबाट हटाउने निर्णय गर्दै आएका थिए ।

देशभर ओली पक्षले कसैलाई कारबाही नगर्ने तर संगठनमा सदस्यहरु मनोनित गरेर बहुमत पुराउने रणनीति अपनाउँदै आएको छ । सार्वजनिक कार्यक्रममा दुबै पक्षले एकले अर्कोलाई बैठक भागेको आरोप लगाउँदै बैठकमा आउन आग्रह गर्दै आएका थिए ।

आरोप प्रत्यारोपबीच नै संगठन निर्माणपनि दुबै पक्षले तिब्र बनाउँदै आएका छन् । विवाद र आलोचना बढ्दै गएपछि प्रचण्ड नेपाल समूहले तीन दिनभित्र स्पष्टिकरण दिन भन्दै माघ २ गतको स्थायी कमिटी बैठकले ओलीलाई स्पष्टिकरण सोध्ने निर्णय गर्दै बालुवाटारको गेटमा पत्र छाडेको थियो।

तर ओलीबाट कुनै जवाफ नआएको भन्दै आजको स्थायी कमिटी बैठकले ओलीलाई साधारण सदस्य समेत नरहने गरि निष्काशन गर्ने निर्णय गरेको हो ।

प्रवक्ता श्रेष्ठले ओलीलाई अध्यक्ष पदबाट हटाएपछि पनि संविधान, लोकतन्त्र, राष्ट्र, जनता र पार्टीको विचार, नीति, पद्दति र हितकाविरुद्ध लगातार गतिविधि गरेका कारण ओलीलाई साधारण सदस्यता किन नहटाउने ? भनेर स्पष्टीकरण सोधिएको र तोकिएको समयमा जवाफ नदिएपछि हटाएको बताए।

यसअघि पुस ७ गते बसेको प्रचण्ड-नेपाल पक्षीय केन्द्रीय कमिटीले ओलीलाई अध्यक्षबाट हटाएको थियो। ओलीको ठाउँमा माधव नेपाल अध्यक्ष बनेका छन्।

४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा २ सय ९७ जना उपस्थित बैठकले ओलीलाई हटाएर नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको उक्त समूहको दाबी छ । ओली पक्षलेपनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मेबारीबाट हटाउने निर्णय गरेको थियो ।

एकले अर्कोलाई जिम्मेबारीबाट हटाउने र साधारण सदस्यबाटै हटाउनेक्रम चलेपनि यसले तात्विक फरक भने पर्ने छैन । दुबै पक्षले आफ्नो तयारी गरिरहेकाले यो औपचारिक निर्णयमात्रै हुनेछ । यो निर्णयसँगै अब सम्भवत: स्थानीय तहसम्म साधारण सदस्यबाट कारबाहीको होड चल्ने छ र सांगठनिक कित्ताकाट थप प्रष्ट हुँदै जाने छ ।

यस्तै बैठकले गंगालला तुलाधरलाई कार्यालय सचिव बनाएको छ। यसअघि नै पूर्व माओवादीका तर्फबाट,श्रीराम ढकाल सचिव रहेका थिए। त्यस्तै कार्यालयको उपसचिवमा मोहन गौतम नियुक्त भएका छन्।



प्रतिक्रिया दिनुहोस !