१३ बैशाख २०८१, बिहिबार

‘यो दाजुको मिरमिरे आँखा’ गीतका सर्जक धनबहादुर गायकको निधन

प्रकाशित मिति :  25 January, 2021 1:25 pm


तस्बिर : रासस

कास्की । गन्धर्व संस्कृतिका धरोहर लोककलाकार धनबहादुर गायक निधन भएको छ । गायकको उपचारको क्रममा आज बिहान मनिपाल अस्पताल पोखरामा निधन भएको हो ।

पोखरा–१६ बाटुलेचौरका गायक ‘यो दाजुको मिरमिरे आँखा’, ‘बेली र चमेली’ लगायत अजर–अमर गीतका सर्जक थिए । विसं २०२१ मा जन्मिएका गायक छाती र फोक्सोमा समस्या देखिएपछि मणीपाल मेडिकल कलेज शिक्षण अस्पतालमा सघन उपचार कक्षमा उपचारत थिए ।

गन्धर्व संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ गायकले पछिल्लो समय सारङ्गी संरक्षण पाठशालासमेत चलाउँदै आएका थिए । उनी “लोक संस्कार र संस्कृति बाँचे मात्र आफ्नो पहिचान बाँच्छ” भन्नेमा विश्वास गर्थे । गन्धर्व गायनका चर्चित गायक झलकमान गन्धर्वका भाञ्जा गायकले विसं २०६६ मा झलकमान गन्धर्व राष्ट्रिय लोकबाजा सारङ्गी संरक्षण पाठशालाको स्थापना गरेर गन्धर्व संस्कृति संरक्षणमा सक्रिय बनेका थिए ।

झलकमानले नेपाली मौलिक गीत सङ्गीतको सिर्जना र संरक्षणमा आफ्नो जीवन नै समर्पण गरे तर उनको योगदानको कदर कहीँकतैबाट नभएकाले उनको स्मृति र सारङ्गी संरक्षणका लागि उक्त पाठशाला खोलिएको गायकले बताउँदै आएका थिए ।

एक दशकअघि दुई सारङ्गीबाट शुरु गरिएको सो पाठशालामा संरक्षकका रुपमा लोककवि अलिमियाँ प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ रहेका छन् । लोकगीतको संरक्षणमा सक्रिय मियाँले दशकअघि धनबहादुरले जाहेर गरेको इच्छालाई मूर्तरुप दिन १० सारङ्गी प्रदान गरेर गायकलाई हौसला थपेका थिए ।

उक्त पाठशालामा आठ वर्षदेखि २५ वर्षसम्म उमेर समूहकाहरुले सारङ्गी रेट्न सिकिरहेका छन् । जमुनावर्षा शर्मा/रासस



प्रतिक्रिया दिनुहोस !