७ बैशाख २०८१, शुक्रबार

प्रचण्ड-नेपाल समूहतर्फ लक्षित गर्दै ओलीले भने: उनीहरु त केपी ओली यो त पृथ्वीमै नरहे पनि हुन्छ भन्छन्

प्रकाशित मिति :  25 January, 2021 6:36 pm


दाङ। प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल तथा पुष्पकमल दाहाल प्रचण्डतर्फ लक्षित गर्दै उनीहरुले केपी ओली पृथ्वीमै नरहे पनि हुन्छ भन्ने गरेका आरोप लगाएका छन् ।

दाङमा ओली पक्षधरको नेकपाले आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माधवकुमार नेपाललाई लक्षित गर्दै उनीहरु राष्ट्रिय हित नै नचाहाने तथा पार्टी टुक्राउन लागी परेर लागेका आरोप लगाउँदै जनताले त्यस्ता तत्त्वहरुलाई छानीछानी दण्डित गर्ने बताए ।

उनले दाहाल-नेपाल समूहलाई सिङ फुक्लेको ‘तिल्के गोरु’को संज्ञा दिए । उनीहरुको सिङ्ग फुक्लिसकेकाले कसैले टेर्दा पनि नटेर्ने कटाक्ष गरे ।

“एउटा तिल्के गोरु थियो । त्यो गोरुले अर्को गोरु देख्नै नहुने । झम्टी हाल्ने, सिंगौरी खेल्ने । भुइँ खोस्रिने, हुक्का गर्ने । अनि, त्यसको फ्वाँफूँ देखेर अरु डराउने “,उनले भने, “एक दिन अलिक नटेर्ने खालको बहर गोरु परेछ । घड्याप्प जुधेको । बुढो तिल्के गोरुको सिङ भाँचिदियो । तिल्केलाई रिस त उठ्यो होला, सिङ  भाँचिएकोमा । तर, जुध्न सकेन ।”

तोकिएकै मितिमा चुनाव हुन्छ

ओलीले तोकिएको मितिमा चुनाव हुने भन्दै नेता तथा कार्यकर्तालाई तयारीमा जुट्न निर्देशन दिएका छन् । ओलीले वैशाख १७ र २७ गते नै चुनाव हुने भन्दै तयारीमा लाग्न निर्देशन दिएका हुन ।

“तपाईहरु चुनावको तयारीमा लाग्नुस्, वैशाख १७ र २७ गते निर्वाचन हुन्छ । कतिपयले ओलीले निर्वाचन गराउँदैन भन्दैछन् उनीहरुलाई भन्न दिनुस्, तपाईहरु चुनावको तयारीमा लाग्नुस् । हामीले सफलता प्राप्त गर्नेछौँ,” ओलीले भने ।



प्रतिक्रिया दिनुहोस !