१३ बैशाख २०८१, बिहिबार

माओवादी छोडेपछि पहिलो पटक रोल्पा पुग्दै पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई

प्रकाशित मिति :  30 January, 2021 7:00 pm


रोल्पा । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वमाओवादी नेता डा.बाबुराम भट्टराई माओवादी आन्दोलन छोडेको घोषणा गरेपछि पहिलो पटक रोल्पा पुग्दैछन् ।

तत्कालिन माओवादी पार्टीबाट बाहिरिएका भट्टराईले आफू कम्युनिष्ट आन्दोलनबाट अलग भएको भन्दै नयाँ शक्ति पार्टी गठन गरेका थिए । तर, गत चुनावमा सोंचेजस्तो परिणाम नआएपछि मधेशकेन्द्रित उपेन्द्र यादव नेतृत्वको पार्टीसँग नयाँ शक्तिलाई मिसाएर अहिले अध्यक्ष बनेका छन् ।

भट्टराई जनयुद्धको नेतृत्वकर्तामध्यका एक हुन् । तत्कालिन नेकपा माओवादीको शिर्ष नेता रहेका भट्टराईलाई पार्टीले कारबाही गरेर रोल्पामै जनसेनाको नियन्त्रणमा राखेका थियो । उनी भूमिगतको समयमा पटकपटक रोल्पा पुगेका थिए ।

तत्कालिन नेकपा माओवादी शान्ति प्रकृयामा आइसकेपछि र माओवादी पार्टीबाट अलग हुनुअघि पूर्वप्रधानमन्त्री भट्टराई रोल्पा पुगेका थिए । माओवादी पार्टी छोडेर नयाँ पार्टी बनाएपछि भने पूर्वप्रधानमन्त्री भट्टराई औपचारिक कार्यक्रममा सहभागि हुन पहिलोपटक  रोल्पा जान लागेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका केन्द्रीय सदस्य तथा रोल्पा इन्चार्ज दिपेन्द्रकुमार पुनले पूर्वप्रधानमन्त्री भट्टराई पार्टी नफुट्दै रोल्पा आएको बताए ।

उनले भने,“पार्टी विभाजन नहुँदै रोल्पा आउनुभएको थियो, मेरो घरमै बस्नुभएको थियो तर पार्टी विभाजनपछि मलाई याद भएन ।”

जनयुद्धमा लोकप्रिय नेता भट्टराईको रोल्पामा प्रभावकारी संगठन भने छैन । यसपटक रोल्पा पुग्दा भट्टराईको ठूलो सभा वा भेला केही हुने छैन । उनले आइतबार सदरमुकाम लिवाङमा रोल्पा उद्योग बाणिज्य संघको कार्यक्रममा आर्थिक विकासको अन्तरकृयामा सहभागिता जनाउनेछन् ।

रोल्पा उद्योग बाणिज्य संघका अध्यक्ष विश्व चन्दले आफूहरुको निम्तोमा पूर्व प्रधानमन्त्री भट्टराई रोल्पा आउन लागेको बताए । उनले भने, “पूर्वप्रधानमन्त्रीको हैसियतले र अर्थमन्त्रीपनि भएकाले जिल्लाको आर्थिक विकासबारे छलफल गर्न हामीले निम्ता गरेका हौं । रोल्पा जिल्लाको, कृषि पर्यटन लगायत आर्थिक विकासमा हामीले छलफल गर्ने छौं ।”

भट्टराई दाङ, प्यूठान लगायत जिल्लाको भ्रमणको अवसर पारेर रोल्पा जान लागेका हुन् । २०७४ सालको संघीय चुनावमा भट्टराईलाई रोल्पा लैजाने तयारी थियो । गोरखामा कांग्रेससँग सहकार्य गरेका भट्टराईलाई रोल्पा लैजान तत्कालिन सिंचाइ राज्यमन्त्री तथा नेपाली कांग्रेसका उमेद्वार अमरसिंह पुनले प्रयास गरेका थिए । सभापति शेरबहादुर देउवासँग भेट्टराईलाई रोल्पा लैजाने प्रयास गरेपनि अन्तिममा भट्टराई गएनन् ।

नेता पुनले भने, “मैले भट्टराई आएदिए हुन्थ्यो भन्ने अपेक्षा राखेको थिए । त्यसैअनुसार कुरा भएको थियो तर मिलेन ।”

भट्टराई सभामा आएको भए केही मत बढ्ने पुुनको अपेक्षा थियो । पूर्वप्रधानमन्त्री भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले भट्टराई धेरै समयपछि रोल्पा जान लागेको बताए । उनले भने, “दाङ,प्यूठान जाने कार्यक्रम छ त्यसै अनुसार रोल्पापनि जान लाग्नुभएको हो ।”



प्रतिक्रिया दिनुहोस !