१२ श्रावण २०८१, शनिबार

सभामुख सापकोटाको कदमप्रति राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको असन्तुष्टि

प्रकाशित मिति :  1 February, 2021 3:39 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनसँगै प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच द्वन्द्व बढेको छ ।

संवैधानिक परिषदको सिफारिस फिर्ता गरेपछि सभामुख र अध्यक्षबीचको द्वन्द्व सार्वजनिक रुपमै प्रकट भएको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक परिषदको सिफारिस फिर्ता पठाउने सभामुख अग्नि सापकोटाको कदमको विरोध गरेका छन् ।
तिमिल्सिनाले आज पत्रकार सम्मेलन गरेर सभामुख सापकोटाले नियुक्ति सिफारिस फिर्ताको विरोध गरेका हुन् ।

संघीय संसद सचिवालयमा दर्ता भएको संसदीय सुनुवाइका लागि पठाइएका पदाधिकारीहरूको नामको निर्णय सक्कल फिर्ता गर्दा सभामुख सापकोटाले आफूसँग सल्लाह नगरेको अध्यक्ष तिमिल्सिनाको भनाई छ ।

‘दुवै सदनको प्रतिनिधित्व रहने संसदीय सुनुवाइ समितिका संयुक्त समितिहरु सञ्चालनको अधिकार संघीय संसदको कुनै एक सदन वा पदाधिकारीमा निहित नरहेको भन्दै अध्यक्ष तिमिल्सिनाले अधिकारप्राप्त निकायबाट आएका कुनै पनि कागजात संघीय संसदको दुवै सदनको सम्पत्ति भएको उल्लेख गरे । उनले भने, संसदीय सुनुवाइ सम्बन्धी पत्र फिर्ता सम्बन्धी गलत प्रक्रियामा संघीय संसदको माथिल्लो सदन संलग्नता नरहेको जानकारी गराउँछु ।’

राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले सभामुखको पत्रले राष्ट्रियसभाको गरिमामा प्रहार भएको भन्दै आपत्ति जनाए । सभामुख सापकोटको पत्रमा राष्ट्रियसभा नै छैन जस्तो भाषा प्रयोग भएकाले आफूले आपत्ति जनाएको बताए ।

५ पुसमा प्रतिनिधिसभा भंग गरेसँगै संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक अंगहरुमा नियुक्ति सिफारिस गरेको भन्दै सुनुवाईका लागि संसद सचिवालयमा पत्र पुगेको थियो ।

तर हिजो सभामुख सापकोटाले नियुक्ति सिफारिस संवैधानिक परिषद्मै फिर्ता पठाएका थिए ।

नेकपा विवाद बढ्दै गएपछि सरकारले संवैधानिक परिषदमा सभामुख र प्रमुख प्रतिपक्षी दलका नेता सहभागी नभए पनि निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याएको थियो। सोही अध्यादेश अनुसार परिषद बैठकले विभिन्न पदमा सिफारिस गरेको थियो । सभामुख सापकोटाले प्रतिनिधि सभा विघटन भएकाले सिफारिस सुनुवाइ गर्न नसक्ने भन्दै फिर्ता पठाइदिएका छन् ।

सापकोटा पूर्वमाओवादी नेता हुन भने तिमिल्सिना पूर्व एमालेका नेता हुन् ।



प्रतिक्रिया दिनुहोस !