१५ बैशाख २०८१, शनिबार

संसद विघटनपछि उपराष्ट्रपति पुनले देखाए असन्तुष्टिको ‘चरम रुप’

प्रकाशित मिति :  3 February, 2021 3:49 pm


काठमाडौं । पुस ५ गते प्रतिनिधि सभा विघटन भयो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन भएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नै विभाजन भयो । त्यसको कम्पन अहिलेपनि यथावत छ ।

नेकपाको एउटा समूहको नेतृत्व गरिरहेको प्रचण्ड-नेपाल समूहलेपनि राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरिरहेको छ । राष्ट्रपति भण्डारीको भूमिका तत्कालै देखिने भएकाले उनको आलोचना भयो ।

तर उपराष्ट्रपति नन्दबहादुर पुन ‘पसाङ’को स्वभाविक रुपमा आफ्नो धारणा व्यक्त गर्ने ठाउँ देखिएन । उपराष्ट्रपति पुनले आफ्नो असन्तुष्टि व्यक्त गर्ने राम्रो अवसरका रुपमा प्रयोग गरे शुभकामना सन्देश ।

उनले पुस १५ गते तमू (गुरुङ) समुदायको पर्व तमू ल्होछार र ल्होसारको अवसरमा शुभकामना दिँदै उपराष्ट्रपति पुनले देशमा विकसित पछिल्ला राजनीतिक तथा संवैधानिक घटनाक्रमले जनतामा नैराश्यता छाएको भन्दै यसलाई दुःखद भने ।

दोस्रो पटक १५ दिनपछि अर्थात माघ १ गते माघे संक्रान्ति र माघी पर्व–२०७७ को शुभकामना दिँदै नयाँ संविधान कार्यान्वयनको प्रारम्भिक चरणमै प्रश्न उठ्नु दुःखद कुरा भएको उल्लेख गरे । पुनको यो भनाई राष्ट्रपतिको कदमप्रति असन्तुष्टि थियो ।

यै बीचमा उनले नेकपाको एउटा समूहको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वमाओवादी नेता डा. बाबुराम भट्टराई आफ्नै निवासमा बोलाएर छलफल गराए ।

छलफफलका कुरा सार्वजनिक नभएपछि उनको असन्तुष्टिसँग यो विषय जोडिएको बुझ्न गाह्रो थिएन । उपराष्ट्रपति पुनको फेरि अर्को शुभकामना विज्ञप्ति आयो, सहिद दिवसको दिन ।

उक्त विज्ञप्तिमा पनि पहिलेकै विज्ञप्तिको भाषा थियो । उक्त विज्ञप्तिमा भनिएको थियो,“प्रतिनिधिसभा विघटनपछि संविधानको संरक्षण र पालन हुनुपर्नेमा त्यसो हुन नसकेको भनी प्रश्न उठ्दै र आवाज बढ्दै गएको छ । नयाँ संविधान कार्यान्वयनको प्रारम्भिक चरणमै यसरी प्रश्न उठ्नुपर्ने अवस्था सिर्जना हुनु ज्यादै दुःखद कुरा हो ।”

तर आज संवैधानिक निकायका प्रमुख तथा सदस्यहरुको सपथ ग्रहणमा नगएर राष्ट्रपति पुनले आफ्नो असन्तुष्टिलाई चरम रुपमा व्यक्त गरेका छन् । सभामुख अग्नी सापकोटाले समेत सपथ ग्रहण कार्यक्रम बहिष्कार गरेका थिए ।

उपराष्ट्रपति पुन पनि शितल निवासमा भएको सपथ ग्रहण कार्यक्रममा गएनन् । उपराष्ट्रपति पुन सपथ ग्रहण कार्यक्रममा नजानुलाई विगतकै असन्तुष्टिको शिशिला मानिएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमप्रति उनको असन्तुष्टिको यो अहिलेसम्मकै ‘चरम’ रुप हो । यसअघि मौकामा सन्देश दिँदै आएको उनले कार्यक्रममै अनुपस्थित जनाएका हुन् ।

यद्दपी उपराष्ट्रपति पुनका प्रेस संयोजक मनोज घर्तीले भने अस्वास्थताका कारण उपराष्ट्रपति पुन सपथ ग्रहण कार्यक्रममा नगएको दाबी गरे । उनले भने, अरु कारण होईन उहाँ बिरामी भएकाले नजानुभएको हो ।

पछिल्लो समय राजकीय पदमा बसेका पदाधिकारीहरुबीच पनि पृष्ठभूमि अनुसार विभाजित हुने गरेका छन् । उपराष्ट्रपति पुन र सभामुख सापकोटा पूर्वमाओवादी नेता हुन् ।

 



प्रतिक्रिया दिनुहोस !