४ कार्तिक २०८३, मंगलबार

संवैधानिक आयोगहरुमा गरिएको नियुक्ति विरुद्ध सभामुखद्धारा सर्वोच्चमा रिट दायर

प्रकाशित मिति :  5 February, 2021 12:38 pm


काठमाडौं । संवैधानिक आयोगहरूमा गरिएको नियुक्ति र शपथग्रहण असंवैधानिक रहेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

शुक्रबार सभामुख सापकोटा आफैँ अदालतमा उपस्थित भएर गैरसंवैधानिक रुपमा गरिएको नियुक्ति खारेज गर्न माग गर्दै उनले रिट निवेदन दायर गरिसकेको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले बताए।

रिट दायर गर्नको सभामुखसँगै नेकपाको प्रचण्ड–माधव पक्षका नेता शशी श्रेष्ठ, रामकुमारी झाँक्री, अमृता थापालगायत पनि पुगेका थिए।

रिट निवेदनमा राष्ट्रपति कार्यालय, संवैधानिक परिषद्का अध्यक्ष रहने प्रधानमन्त्री, सदस्यहरु प्रधानन्यायाधीश र राष्ट्रिय सभा अध्यक्ष तथा विभिन्न संवैधानिक निकायमा नियुक्त भएका पदाधिकारीलगायत ३९ जनालाई विपक्षी बनाइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायका अध्यक्ष तथा पदाधिकारी गरी ३४ जनालाई नियुक्त गरेका थिए।



प्रतिक्रिया दिनुहोस !