४ बैशाख २०८१, मंगलबार

४ कम्युनिष्ट पार्टीद्धारा संयुक्त रणनैतिक मोर्चाको घोषणा, विप्लवले मोर्चाका लागि पठाए जनसरकार प्रमुख

प्रकाशित मिति :  11 February, 2021 4:28 pm


काठमाडौं ।  विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले संयुक्त रणनैतिक मोर्चाको घोषणा गरेका छन् ।

काठमाडौंमा आज कार्यक्रम गरेर उनीहरुले संयुक्त मोर्चाको घोषणा गरेका हुन् । मोर्चाको केन्द्रीय समिति समेत घोषणा भएको छ । केन्द्रीय समितिमा १५ सदस्यीय केन्द्रीय समिति गठन भएको हो । केन्द्रीय समिति अन्तर्गत अहिले १२ सदस्यको नाम घोषणा गरेको छ भने बाँकी थप घोषणा गरेको छ ।

केन्द्रीय समिति सदस्यमा सिपी गजुरेल, रामसिंह श्रीस, पवनमान श्रेष्ठ, सन्तोष बुढा, नवीनकुमार विश्वकर्मा, अज मोहम्मद, ऋषिराम कट्टेल, रामदुलार महतो, राजेश बान्तवा, जागृत रायमाझी, धनकुमारी सुनार र नवीन रिमाल रहेको छ ।

मोर्चाले रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समितिको प्रथम बैठकले अध्यक्ष र सचिव चयन गर्नेछ । रणनैतिक संयुक्त मोर्चाको प्रदेश, जिल्ला र आवश्यकताअनुसार स्थानीय तहसम्म नै समितिहरू गठन गर्दै जाने मोर्चाले जनाएको छ ।

रणनैतिक संयुक्त मोर्चाले पहिलो चरणको आन्दोलन समेत घोषणा गरेको छ । घोषित कार्यक्रम अन्तर्गत आज मोर्चाको घोषणा सभा गरेको छ भने फागुन ६ गते बुटवलमा,फागुन १४ गते धनगढी, फागुन १८ गते इटहरीमा जनसभा गर्ने घोषणा गरेको छ ।

मोर्चाबारे भनिएको छ,”रणनैतिक संयुक्त मोर्चा गठनको एउटा मुख्य लक्ष्य कम्युनिस्ट पार्टीहरूबीच ध्रुवीकरण र पार्टी एकता हो । त्यसैले यस रणनैतिक संयुक्त मोर्चामार्फत् पार्टीहरूचीच गरिने सहकार्य र सैद्धान्तिक(व्यावहारिक अन्तर्रक्रियालाई व्यवस्थित गर्दै पार्टी एकतासम्म पुग्ने प्रयत्नहरूलाई घनिभूत पारिनेछ ।”

यस मोर्चामा हाल र पछि आबद्ध हुने कम्युनिस्ट पार्टीहरू र अन्य शक्ति एवं व्यक्तित्वहरू मोर्चाको मान्यतासँग नबाझिने गरी आफ्नो कार्यदिशाअनुरूप अभिव्यक्ति र गतिविधि गर्न स्वतन्त्र रहने उल्लेख छ ।

जनगणतन्त्र वैज्ञानिक समाजवादको रणनैतिक उद्देश्य पूरा गर्न संक्रमणकालीन राजनीतिक अवस्थामाथि हस्तक्षेपसहित अधि बढ्नु अनिवार्य भएको भन्दै मोर्चाले आफ्नो अवधारणा पत्रमा भनेको छ, “न्याय, शान्ति, स्थिरता, स्वाधीनता र समृद्धि दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्थावाट सम्भव छैन । त्यसैगरी राजनीतिक प्रतिगमन र संकटको समाधान एक वा अर्को प्रकारको प्रतिक्रियावादी संसदीय व्यवस्थाभित्रैबाट गरिने प्रपञ्चबाट पनि सम्भव छैन । त्यसैले संसदीय व्यवस्थाको विकल्प र संकट समाधानको दिशामा अधि बढ्न  राजनीतिक समीक्षा सभा, वैकल्पिक संयुक्त सरकार र जनगणतन्त्र वैज्ञानिक समाजवाद स्थापना को राजनीतिक शृंखला हुँदै अधि बढ्नु आवश्यक छ । मोर्चाले राजनैतिक शंखलालाई अघि बढाउन सङ्घर्षकै एक औजारका रूपमा राजनीतिक समीक्षा सभाहरूमार्फत् व्यापक जनताका सरोकारहरूलाई संगठित गर्ने नीति लिइने भनिएको छ ।”

चार पार्टी मध्य विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सरकारले २ बर्षपहिले प्रतिबन्ध लगाएको छ । मोर्चाको अवधारणा पत्रमा विप्लवसहित सबै शिर्ष नेताले हस्ताक्षर गरेका छन् । मोर्चाको विप्लव नेतृत्वको नेकपाबाट सचिवालय सदस्य सन्तोष बुढासहित ३ जना पठाइएको छ । बुढा जनसरकार प्रमुख समेत हुन् ।



प्रतिक्रिया दिनुहोस !