१५ बैशाख २०८१, शनिबार

काठमाडौंको तारकेश्वरमा फेरि बर्ड फ्लू पुष्टि

प्रकाशित मिति :  11 February, 2021 9:15 pm


काठमाडौं ।  काठमाडौंको तारकेश्वरमा फेरि बर्ड फ्लू पुष्टि भएको छ । पशु सेवा विभागले विज्ञप्ति जारी गर्दै तारकेश्वर नगरपालिका वडा नं. १ का कृषिकहरूले पालेको हाँसमा बर्ड फ्लू पुष्टि भएको जनाएको छ ।

यसअघि काठमाडौंकै तारकेश्वर नगरपालिकाको वडा नं. ७ साङ्लेखेला,फुटुङमा बर्ड फ्लू पुष्टि भएको थियो । दोस्रो पटक वडा नं. १ मा पालेको हाँसको नमुना परीक्षण गर्दा बर्ड फ्लू पुष्टि भएको हो ।

पशु सेवा विभागले विज्ञप्ति जारी गर्दै भनेको छ, “बर्ड फ्लू रोग पुष्टि भएको क्षेत्रबाट अन्यत्र फैलन नदिई तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित नियकाहरूलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुमा समेत आज नष्ट गरिसकिएको छ । ”

विभागका अनुसार उक्त क्षेत्रमा पालिएका १४२१ हाँस,४२ स्थानीय कुखुरा,२६ अण्डा र ८०० के.जी. दाना नष्ट गरिएको जनाएको छ । साथै रोग देखा परेको क्षेत्रलाई पूर्ण निःसंक्रमण समेत गरिसकिएको विज्ञप्तिमा उल्लेख छ ।

रोग पूर्ण रुपमा नियन्त्रणमा रहेको उल्लेख गर्दै विभागले निगरानी कार्यलाई निरन्तरता दिइएको उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !