७ बैशाख २०८१, शुक्रबार

वैकल्पिक संयुक्त सरकार र जनमतसंग्रहको प्रस्ताव गरेको एक हप्तामै विप्लव नेतृत्व नेकपा वार्ताका लागि तयार

प्रकाशित मिति :  20 February, 2021 4:57 pm


फाइल फोटो

काठमाडौं । वैकल्पिक संयुक्त सरकार र जनमतसंग्रहको प्रस्ताव गरेको एक हप्तामै विप्लव नेतृत्व नेकपा वार्ताका लागि तयार भएको छ ।

फागुन १ गते जनयुद्ध दिवसको अवसरमा महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै बैकल्पिक संयुक्त सरकार र वैज्ञानिक समाजवाद या पुँजीवाद भन्नेबारे जनमत संग्रहको प्रस्ताव गरेका थिए ।

महासचिव विप्लवले आज मात्रै विज्ञप्ति जारी गर्दै वार्ताका लागि तयार भएको भनेका छन् । उनले विज्ञप्ति जारी गर्दै भनेका छन्,”हाम्रो क्रान्ति राष्ट्र,सामाज,अग्रगामी रुपन्तरण एवं जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यसको प्रकृयामा आम जनसम’दायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौं ।”

विप्लव नेतृत्व नेकपालाई सरकारले २०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो । हिंसात्मक बाटोमा गएको भन्दै ओली नेतृत्वकै सरकारले प्रतिवन्ध लगाएको थियो । एकीकृत जनक्रान्तिको कार्यदिशा अपनाएको उक्त पार्टीका ११ जना नेता कार्यकर्ताको ज्यान गइसकेको छ ।

अहिले पनि सचिवालय सदस्य धर्मेन्द्र वास्तोला, केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द, वीरजंग,माइला लामा, ओमप्रकाश पुन लगायतका नेता जेल हिरासतमै छन् ।

यसअघि पनि सरकारले वार्ताको प्रयास गरेको थियो । तत्कालिन सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा वार्ता टोली गठन भएको थियो । तर, औपचारिक पत्र,प्रतिबन्ध फुकुवा तथा नेता कार्यकर्ता रिहाइको सर्त राखेपछि वार्ता हुन सकेन । पछिल्लो समय वार्ताका लागि ओली समूहका महासचिव विष्णु पौडेल सकृय रहेका थिए ।

विप्लव नेतृत्व नेकपाले पछिल्लो समय ४ कम्युनिष्ट पार्टीसँग संयुक्त रणनैतिक मोर्चा बनाएको थियो ।

मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीसँग उक्त पार्टीले माघ २९ गते काठमाडौंमा संयुक्त रणनैतिक मोर्चाको घोषणा गरेको थियो ।

मोर्चाको केन्द्रीय समितिमा विप्लव नेतृत्व नेकपाले जनसरकार प्रमुख सन्तोष बुढालाई पठाईएको थियो ।



प्रतिक्रिया दिनुहोस !