६ बैशाख २०८१, बिहिबार

धमाधम ऋण उठाउँदै सरकार, थप १० अर्बको ऋणपत्र जारी

प्रकाशित मिति :  22 February, 2021 12:42 pm


काठमाडौं । पर्याप्त राजस्व संकलन नभएर चालू आर्थिक वर्षमा साउनदेखि नै आन्तरिक ऋण उठाउन थालेको सरकारले थप १० अर्ब रुपैयाँबराबर ऋण उठाउन ऋणपत्र जारी गरेको छ ।  राष्ट्र बैंकले सोमबार ८ वर्षे अवधिको विकास ऋणपत्र २०८५ ‘घ’ बोलकबोलमार्फत बिक्री खुलाएको हो ।

उक्त ऋणपत्रमा आज दिउँसो ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणालीमार्फत इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्ने जनाइएको छ ।

प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात ८.५ अर्ब र १.५ अर्ब रुपैयाँ छुट्याइएको छ। अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउन रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ ।

बैंकका अनुसार यो ऋणपत्रको निष्कासन २०७७ फागुन १२ गते हुनेछ भने साँवा भुक्तानी २०८५ फागुन १२ गते हुनेछ।  यसको ब्याज भुक्तानी भने अर्धवार्षिक रुपमा हुने र आर्जिक ब्याजमा ब्याजकर लाग्ने जनाइएको छ ।

 



प्रतिक्रिया दिनुहोस !