११ बैशाख २०८१, मंगलबार

मनाङमा एक वर्षपछि खुले विद्यालय

प्रकाशित मिति :  24 February, 2021 12:38 pm


मनाङ । कोरोना महामारी र चिसोले बन्द भएका मनाङका विद्यालय झण्डै एक वर्षपछि सञ्चालनमा अएका छन् । गत वर्ष जाडो सकेर विद्यार्थी भर्ना अभियान शुरु गर्दैगर्दा कोरोनाले एसइई परीक्षा स्थगित भएसँगै बन्द भएका यस क्षेत्रका विद्यालय विसं २०७६ चैत महिनादेखि हालसम्म बन्द नै भए ।

पहँुच पुगेका ठाउँमा अनलाइन कक्षा सञ्चालन भए पनि यहाँ भने कुनै पनि कक्षा सञ्चालन प्रभावकारी भएन । एक त विकट ठाउँ त्यसमा पनि कोरोना कहरमा घरदेखि बाहिर निस्कने वतावरण नहुनुले पनि कठिन भएको स्थानीय अभिभावक बताउँछन् ।

केही दिन अगाडि मात्र तल्लो भेगका विद्यालय खुलेका हुन् । सदरमुकाम चामे र नासोँ गाउँपालिकामा रहेका विद्यालयले पढाइ शुरु गरेका छन् ।

विगतका वर्षमा चैतदेखि नयाँ शैक्षिकसत्र शुरु हुने भए पनि यस वर्ष कोरोनाका कारण पढाइ रोकिएकाले छिटो विद्यालय सञ्चालन गरिएको हो । चारवटा गाउँपालिका रहेको यस जिल्लाको माथिल्लो भेग मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिकाका विद्यालय भने फागुन १६ पछि खुल्ने भएको छ ।

जाडो छल्न काठमाडौँ र पोखरालगायत जिल्ला बाहिर पुगेका अधिकांश विद्यार्थी अभिभावकसँगै फर्केका छन् । विगतका वर्षमा वार्षिक परीक्षा सकेर पुस पहिलो साता विद्यार्थी जाडो र हिमपात छल्न शहर झर्ने गरे पनि यस वर्ष कोरोनाका कारण परीक्षा सञ्चालन भएको छैन ।

चामेस्थित लोकप्रिय माविमा माघ ११ गतेदेखि पठनपाठन शुरु गरिएको प्रधानाध्यापक सुरेश थापाले बताए । आवासीय विद्यालयका रूपमा सञ्चालन गरिएको उक्त विद्यालयमा हाल २९२ विद्यार्थी छन् ।रासस



प्रतिक्रिया दिनुहोस !