१५ चैत्र २०८०, बिहिबार

प्रधानमन्त्रीको राजीनामाबारे ओली समूहको निष्कर्ष : आवश्यक परामर्शपछि निर्णय

प्रकाशित मिति :  24 February, 2021 2:49 pm


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूहको आज बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा दिन नहुने निष्कर्ष निकालेको हो ।

राजीनामाका विषयमा ओली समूहले अन्य दलसँग थप छलफल गर्ने भएको छ । बैठकपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आवश्यक परामर्शपछि आवश्यक निर्णय गर्ने बताए । उनले अहिले नै प्रधानमन्त्रीले राजीनामा दिँदा मुलुक अनिश्चयतातिर जाने भन्दै मन्त्री ज्ञवालीले आवश्यकता हेरेर निर्णय गर्ने बताए ।

उनले विगतमा माधव कुमार नेपालले प्रधानमन्त्री पदबाट राजीनामा दिँदा १७ पटकसम्म संसदमा चुनाव भएको स्मरण गराए ।

हिजो सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णयलाई बदर गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीमाथि राजीनामा दिन दबाव परेको छ । तर ओलीले भने सत्तासमिकरण हेरेर मात्रै राजीनामा दिने छाँट देखाएका छन् ।

स्थायी कमिटी बैठकपछि मन्त्री ज्ञवालीले , “मुलुकलाई अन्योलमा राख्नुहुन्न भन्नेमा हामी छौं, जे गर्दा राम्रो हुन्छ प्रधानमन्त्री ज्यूले त्यै गर्नुहुन्छ ।” उनले अन्य दलसँग छलफल गर्ने बताए । अहिले व्यक्तिगत रुपमा कुराकानी छलफल भएपनि औपचारिक छलफल भने सुरु नगरेको बताए ।

ओली समूहले छिट्टै संसदीय दलको बैठक र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णयपनि गरेको छ । यद्यपी यसबारे थप निर्णय भोलीको स्थायी कमिटी बैठकमा हुने बताए । मन्त्री ज्ञवालीले देशभर तय भएका कार्यक्रमलाई पनि निरन्तरता दिने उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस !