८ बैशाख २०८१, शनिबार

माटो सम्बन्धि डिजिटल नक्सा सञ्चालनमा

प्रकाशित मिति :  24 February, 2021 6:12 pm


काठमाडौं । सरकारले माटोको डिजिटल नक्शाङ्कन सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज काठमाडौंमा भएको कार्यक्रममा नक्शाङ्कनको शुभारम्भ गरेका हुन् ।

नक्शाङ्क मार्फत माटोको उर्वराशक्ति, अम्लीयपन, प्राङ्गारिक पदार्थको मात्रा माटोको बनोट आदि जस्ता माटोका विभिन्न गुणहरु कृषकलाई सहजै जानकारी उपलब्ध हुने नेपाल कृषि अनुसन्धान परिषद्ले जनाएको छ ।

४ वर्ष लगाएर राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले सिमिट नेपाल र नेपाल सीड एण्ड फर्टिलाइजर परियोजनाको सहयोगमा नक्शा तयार गरेको हो ।

यस नक्शांकनको आधारमा कृषकले आफ्नो जग्गामा मलको मात्रा कति प्रयोग गर्ने, कस्तो बाली लगाउन उपयुक्त हुने आफ्नो माटो कसरी सुधार गर्ने लगायतका विषयमा निर्णय लिन सहयोग प्राप्त गर्न सक्नेछन् । यस किसिमको देशकै नक्सा तयार गर्ने दक्षिण एशियामै नेपाल पहिलो भएको सरकारको दाबी छ ।

नक्शांकन तयार गर्न देशभरिबाट २३.२७३ वटा माटोका नमुनाको परीक्षण नतिजा विश्लेषण गरी नेपालको लागि उपयुक्त हुने प्रविधि अपनाई नक्सा तयार गरिएको छ । यो नक्शा मार्फत कृषकहरु तथा आम सरोकारवालाहरुले आफुलाई आवश्यक पर्ने स्थानको माटोको अवस्था र गुणबारे जानकारी प्राप्त गर्न सक्ने नेपाल कृषि अनुसन्धान परिषद्ले जनाएको छ ।

नक्साको प्रयोजन बढाउनका लागि प्रयोग गर्न सहज हुने खालका विभिन्न मोबाइल एप्लिकेसन्स पनि तयार गरिने र यस्ता काममा सरकारी तथा निजी क्षेत्र सबैको संलग्नता रहने परिषद्को भनाई छ ।

घरमै बसेर प्रविधिको प्रयोग गरि आफ्नो खेतबारीको माटोको गुणस्तर थाहा पाउन सकिने व्यवस्था कृषि क्रान्तिको बाटोमा उपलब्धिपूर्ण कदम रहेको कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले बताइन्।

विभिन्न स्रोतबाट संकलित माटोको सूचनाका आधारमा हरेक २ वर्षमा डाटाबेसलाई अद्यावधिक गरिने छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. योगेन्द्र कुमार कार्कीले डिजिटल नक्सा कृषिमा नीतिगत निर्णय गर्न समेत कोशेढुंगा सावित हुने बताए।

राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले तथ्याङ्कको आधिकारिकता, सत्यता र भरपद्दोपन बढाउनका लागि आवश्यक डाटाबेस नियमितरूपमा बढाउँदै जानेछ र यी सबै प्रक्रिया पुराहुदै गए अबको केही वर्षीभित्रै नेपालमा एउटा राष्ट्रिय स्तरकै माटोको सूचना प्रणाली नार्कमा स्थापना हने भनिएको छ ।



प्रतिक्रिया दिनुहोस !